काठमाडौ –
ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको बताउनुभएको छ ।
भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रवार भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप काँग्रेसको सभापति समेत रहनुभएका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाउनुभएको थियो ।
महामन्त्री शर्माले ऊर्जा राज्य मन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको भन्दै राज्य मन्त्रीले स्पष्ट पार्नुपर्ने माग गर्नुभयो । राज्यमन्त्री तामाङले महामन्त्री शर्माको प्रश्नको जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्शन’कम्पनीसँगको आवद्धता साढे दुई वर्ष अगाडि नै छाडेको स्पष्टिकरण दिनुभयो ।

उहाँले पार्टीले विश्वास गरेर पठाएर नै कानूनअनुसार राज्यमन्त्री भएको उल्लेख गर्नुभयो । उहाँले देशको कानूनले आवद्धता नभएको कम्पनी कालोसूचीमा पर्दा मन्त्री छाडेर पुरानै पेशमा फर्कनसक्ने बताउनु भयो ।
उहाँले २०७९ को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको बताउनु भयो । उहाँले कानून, नीति नियम र नेपालको संविधानले कम्पनीमा आवद्धता ठहर भए राजनीतिबाट बाहिर जान तयार रहेको बताउनु भयो ।
उहाँले समितिमा बोल्दै भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताकोे फोटोकपी अनिवार्य गर्न माग समेत गर्नुभयो ।