काठमाडौ –
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमालाई लिएर विज्ञहरुले एक पटकको भ्रमणमा एउटा मात्रै नेशनल गोल (राष्ट्रिय एजेण्डा) बनाउनुपर्ने बताएका छन् ।
फ्रेण्ड्स अफ चाइनाद्वारा शनिवार काठमाडौंमा आयोजित आधुनिक चीनसँग नेपालको दुई पक्षिय सम्बन्धबारे छलफलमा बोल्दै विज्ञहरुले एक भ्रमण, एक राष्ट्रिय एजेण्डा बनाउनुपर्ने बताएका हुन् । उनीहरुले नेपालले विगतका प्रधानमन्त्रीहरुको भ्रमणमा पनि राष्ट्रिय प्राथमिकता र एजेण्डाहरुमा अल्मलिएको भन्दै यस पटक त्यसो हुन दिन नहुनेतर्फ सचेत गराए । चीनको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न जोड दिए । चिनियाँ लगानी भित्र्याउने, चीनको शिक्षाको मोडेल र अनुभवबाट शिक्षाको हब नेपाललाई बनाउने विषय प्रमुख प्राथमिकतामा पर्नुपर्ने सुझाव दिए । त्रिभूवन विश्वविद्यालयका प्राध्यापक केशव सिग्देलले प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक सहयोगको पाटो पहिलो प्राथमिकतामा पर्नुपर्ने बताउनु भयो ।

उहाँले नवप्रवर्तनकारी कामहरु गर्नका लागि चीनसँग सहयोग माग्ने र नेपालमा उद्योग खोल्न लगाउने पहल गर्नसके रोजगारीको अवसर सिर्जना हुनुका साथै युवाहरु विदेश पलायन हुनबाट रोक्ने वातावरण बन्ने बताउनु भयो । उहाँले चीन विद्युतीय सवारीसाधन उत्पादन गर्ने पहिलो ठूलो देश भएकाले पनि नेपालमा त्यस किसिमका उद्योग सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताउनु भयो । नेपालले चीनसँग सरकारी स्तरमा हुने सम्बन्धका साथसाथै सांस्कृतिक र नागरिकस्तरको सम्बन्धमा जोड दिन जरुरी रहेको बताउनु भयो । प्रधानमन्त्रीको भ्रमणमा जनस्तरीय सम्पर्क बढाउने कुरा एजेण्डामा पर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै अध्येता डा.विक्रम तिमल्सिनाले प्रधानमन्त्रीले कुनैपनि देशको भ्रमण गर्दा सद्भाव र विश्वास लिएर जाने र फर्किने कुराले नै सम्बन्ध बलियो बनाउने बताउनु भयो । उहाँले विश्वास र सद्भावबाट नै दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बन्ने तर्क गर्नुभयो । उहाँले कसरी आफूलाई विकसित र निर्माण गर्ने भन्नेकुरा चीनबाट सिक्नुपर्ने बताउनु भयो । सञ्चारमाध्यमहरुमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरेर दुई दलीय संयन्त्रका आधारमा भ्रमण गर्नेकुरा सुखद् नरहने जिकिर गर्नुभयो । उहाँले नेपाल कुनै एउटा दल र दलका प्रतिनिधहरुको संस्था नभएकाले सरकारी निकायहरुलाई नै बलियो बनाएर जानुपर्ने बताउनु भयो । प्रधानमन्त्री संस्थामा भन्दा प्रधानमन्त्री व्यक्तिमा विश्वास गर्नेकुरा राम्रो नरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै त्रिभूवन विश्वविद्यालयका प्राध्यापक विपिन देवले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा एउटा नेशनल गोल लिनुपर्ने बताउनु भयो । उहाँले चिनियाँ अनुभव र मोडलबाट सिकेर नेपाललाई शिक्षाको हब बनाउने पहल गर्नुपर्ने कुरा एउटा राष्ट्रिय एजेण्डा बन्नसक्ने प्रश्ताव राख्नुभयो । प्रधानमन्त्रीले कुनैपनि देशको भ्रमण गर्दा एक भ्रमण, एक योजना बनाउनुपर्ने बताउनु भयो । चिनियाँ अनुभव, पुँजी र चिनियाँ लगानी ल्याउनेकुरा प्राथमिकतामा पर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै वागमती प्रदेश, प्रदेश सभाका सभामुख भूवन पाठकले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालीहरुले आश बढ्नु स्वभाविक रहेको बताउनु भाये । उहाँले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको ऋण मिनाह प्राथमिकतामा पर्नुपर्ने कुरा सञ्चारमाध्यमहरुमा आएपनि सो विषय प्राथमिकतामा पर्न नहुने धारणा राख्नुभयो । उहाँले भ्रमण गर्दा एजेण्डा र प्राथमिकतामा अलमल हुने गरेको भन्दै यस पटक त्यस्तो हुन नहुने बताउनु भयो ।
सभामुख पाठकले आसन्न चीन भ्रमणका लागि पनि आवश्यक गृहकार्य हुन नसकेको अनुभुति आफूले गरेको बताउनु भयो ।