काठमाडौ –
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलहरुबीच विश्वासको वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्न र मुलुकलाई सम्मुन्नत बनाउन विस्तृत शान्ति सम्झौताका पक्षधर दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्रका नेतृत्वबीच विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो ।

नेता सिटौलाले प्रमुख दलहरुबीच विश्वासको संकट गहिरिँदै गएको उल्लेख गर्दै त्यसले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाको बाँकी काम अघि बढ्ने अवस्था नदेखिएको जिकिर पनि गर्नुभयो । उहाँले मुलुकमा सामाजिक न्याय, शान्ति र समृद्धिका लागि विस्तृत शान्ति सम्झौताको जगमा संविधान निर्माण भएको भन्दै त्यसलाई सार्थक बनाउने कार्यमा दलहरुबीच घनिभुत छलफल हुनुपर्ने पनि स्पष्ट पार्नुभयो ।
नेता सिटौलाले प्रमुख दलहरुबीचको अविश्वास बढ्दै जाँदा संसद, सरकार र न्यायपालिकाले समेत काम गर्न नसक्ने अवस्था बनेको तर्क समेत गर्नुभयो ।