२०८२ असार १८ गते, बुधबार ०२:००

काठमाडौं –

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदुपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो।

सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारी र सेफ जैबले राम्रो सुरुवात गरे। उनीहरुले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे।

अर्धसतक प्रहार गरेका जैब ६९ रन बनाएर आउट भए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए। यस्तै ब्राण्डन म्याकमुलेन र हरमित सिंहले समान १४\१४ रन बनाए।

कप्तान दिपेन्द्र सिह एैरी सात बलमा ९ रन बनाएर क्याच आउट भए। आरिफ शेख शून्य रनमा आउट हुँदा स्कट कुगेलिन १३ रन बनाए।।

जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन विकेट लिँदा, जिमी निशाम र ललित राजवंशीले समान एक एक विकेट लिए।

सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो।

उपाधि विजेताले ट्रफीसहित एक करोड १० लाख र उपविजेताले ५१ लाख प्राप्त गर्नेछन्। साथै तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन्।

जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन्। जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो। लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस