२०८२ असार १७ गते, मंगलवार १४:४९

वीरगंज-
वीरगंज महानगरपालिकाको १६ औं नगरसभा अधिवेशन शुक्रबार सम्पन्न भएको छ।

महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नगरको समृद्धि र विकासका लागि नयाँ कार्यक्रमहरू पारित गरिएका छन्।

महानगर प्रमुख सिंहले नगरवासीको चाहनालाई सम्बोधन गर्न चालु आर्थिक वर्षको संशोधित कार्यक्रम अघि सारिएको जानकारी दिनुहुँदै १५ औं नगरसभाले लिएका लक्ष्यलाई साकार पार्न बजेट र योजनाहरूमा सुधार ल्याइएको बताउनुभयो।

अधिवेशनमा आर्थिक ऐन २०८१, विनियोजन ऐन २०८१, विज्ञापन कर सम्बन्धी विधेयक, संगठन संरचना सुधार प्रस्ताव, र सहकारी ऐन २०७४ मा संशोधनसहितका विधेयक प्रस्तुत गरिएको थियो। यी सबै विधेयकहरू नगरसभाले सर्वसम्मतले पारित गरेको छ।

नगरसभाले नक्सा पास नगरी निर्माण गरिएका पुराना घरहरूको अभिलेखिकरणका लागि ५० प्रतिशत जरिवाना छुट दिने प्रस्ताव पारित गरेको छ। महानगर प्रमुख सिंहले चैत मसान्तसम्म अभिलेखिकरण गराउन आग्रह गर्नुभएको छ।
नगर प्रमुख सिंहले सञ्चारकर्मीसँग कुरा गर्दै वीरगंजलाई सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली बनाउने अभियानमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले महानगरका जनप्रतिनिधिहरू एकजुट भएर जनताको समस्या समाधानमा क्रियाशील रहेको उल्लेख गर्नुभयो।

अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वडाका अध्यक्ष र सदस्यहरू, कार्यपालिका सदस्य, महानगरका कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

नगरसभाको यो निर्णयले वीरगंज महानगरपालिकाको विकास र व्यवस्थापनमा नयाँ आशा थपेको छ। नगर प्रमुख सिंहको नेतृत्वमा महानगरले आगामी दिनमा थप योजनाहरू अघि बढाउँदै जनताको चाहना सम्बोधन गर्न निरन्तर क्रियाशील रहने बताइएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस