काठमाडौं –
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । हिजो बुधबार साँझ नै जिल्ला अदालत काठमाण्डौमा ६० लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
लामिछानेले प्रभु बैङ्कको बैङ्क ग्यारेन्टी धरौटीको रुपमा बुझाएका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउनु हुनेछ ।

काठमाण्डौ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको एक अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले मागेको धरौटी बुझाएर छुटेपछि लामिछानेले न्यायालयलाई धन्यवाद दिएका छन् ।
यसअघि अघिल्लो बिहीवार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले मागेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने रिहा भएका थिए ।
लामिछानेमाथि कास्की र काठमाण्डौबाहेक रूपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धान चलिरहेको छ ।