२०८२ असार १७ गते, मंगलवार १६:५४

वीरगन्ज

ठाकुर राम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन नजिकिँदै गर्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको विवाद सतहमा आएको छ। अध्यक्ष पदका लागि दुई पक्षले दाबी गरेपछि विद्यार्थीहरु अन्योलमा परेका छन्।

शेरबहादुर देउवा र शेखर कोइराला पक्षधर विद्यार्थीहरु आ-आफ्नो उम्मेदवारलाई जिताउन लागि परेका छन्। यसैबीच, गत २९ गते करण पाण्डेलाई केन्द्रीय सदस्य एवम् प्रतिनिधि अशोक सिंह विष्ट र ई त्रिलोकी साहको हस्ताक्षर पत्रमा ठाकुर राम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई लामो समयदेखि रिक्त रहेको भन्दै नेपाल विद्यार्थी संघको विधान २०२७ को ७ औं संशोधन २०७५ एवम् अध्यक्षको निर्देशन बमोजिम करण पाण्डेलाई अध्यक्षको जिम्मेवारी तोकिएको पत्र आएको थियो।

तर, त्यसको दुई दिनपछि सोही धारा र विधानलाई टेकेर केन्द्रीय सदस्य एवम् प्रतिनिधि विकेश पटेल र ई मुन राज तिवारीले राहुल दासलाई इकाई अध्यक्षको जिम्मेवारी दिएका छन्।

नेविसंघका केन्द्रीय सदस्य युसुफ अहमदका अनुसार संगठनको केन्द्रीय विभागले गत २९ गते करण पाण्डेलाई दिएको पत्र नै संगठनको आधिकारिक पत्र भएको बताए । उनका अनुसार केन्द्रले यही विवाद मिलाउनको लागि पर्सामा केन्द्रीय सदस्य एवम् प्रतिनिधि अशोक सिंह विष्ट र ई त्रिलोकी साहलाई खटाएको थियो र उहाँहरुले आवश्यक सबै प्रक्रिया पूरा गरी करण पाण्डेलाई काठमाण्डौ बोलाएर केन्द्रीय अध्यक्षको हातबाटै उनलाई पत्र दिएको बताए। उनले भने, ‘केही अराजक तत्वहरुले हाम्रो संगठनलाई बदनाम तथा जबर्जस्ती विवाद गर्न खोज्दैछन्। तर हामी विधि र विधानलाई मान्दै आफ्नो आधिकारिक उम्मेदवार करण पाण्डेलाई सबै नेविसंघका साथीहरुले सहयोग गर्ने विश्वास रहेको छ।’

यसरी एउटै पदमा दुई जनाले दाबी गरेपछि क्याम्पसमा नेविसंघको विवाद उत्कर्षमा पुगेको छ। यसले निर्वाचनलाई समेत प्रभावित पार्ने देखिएको छ। विद्यार्थीहरु अन्योलमा परेका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस