वीरगन्ज —
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसियल) नेपाल पर्साले ३० औं जनयुद्ध दिवस धूमधामसँग मनाएको छ। वीरगन्ज सिटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा सहभागी वक्ताहरूले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको बताउँदै पार्टीपंक्तिलाई एकताबद्ध गर्न आवश्यक रहेको जोड दिए।
कार्यक्रम वासियल नेपाल पर्साका संयोजक दीपेन्द्र सिंह पटेलको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला समन्वय समितिका अध्यक्ष रामदरश कुश्वाहा, अखिल नेपाल महिला संघ क्रान्तिकारी पर्साका अध्यक्ष हिरा भट्टराई, अखिल क्रान्तिकारीका पूर्व उपमहासचिव प्रभाकर गुप्ता, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इञ्चार्ज निरज पिठाकोटे मगर, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र गुप्ता लगायतले जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्दै आफ्ना विचार राखे।

कार्यक्रममा महानगर उपाध्यक्ष राजु बैठा, सचिव सुरेन्द्र गुप्ता, पूर्व मधेस प्रदेश सांसद पस्मिना कादरी, विद्यार्थी नेता विवेक कुमार साह, अखिल क्रान्तिकारी ठाकुरराम बहुमुखी क्याम्पस इकाईका अध्यक्ष अनिश पटेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत माओवादी नेता विदुर गुप्ताले गरे भने सञ्चालन विद्यार्थी नेता संदीप विक्रम साहले गरेका थिए। कार्यक्रममा उपस्थित वक्ताहरूले जनयुद्धको ऐतिहासिक महत्वलाई सम्झाउँदै वर्तमान राजनीतिक परिस्थितिमा माओवादी आन्दोलनको भूमिका र महत्वलाई पनि उजागर गरे।
यस अवसरमा उपस्थित नेतृत्वकर्ताहरूले पार्टी अन्तर्गत एकताको आवश्यकता बताउँदै आगामी दिनमा पार्टीले अझ बलियो रणनीति बनाउनुपर्ने आवश्यकतामा जोड दिए।
जनयुद्ध दिवसको अवसरमा आयोजित यस कार्यक्रमले माओवादी आन्दोलनको ऐतिहासिक योगदानलाई सम्झाउँदै वर्तमान राजनीतिक परिवेशमा पनि यसको महत्वलाई उजागर गरेको छ।