वीरगन्ज –
पर्सा जिल्लाको वीरगन्जमा संचालित घर आँगन बचत तथा ऋण सहकारी संस्थाको कार्यालय महिनौंदेखि बन्द रहेको छ भने संचालकहरू सम्पर्कबिहीन रहेका छन्। बचतकर्ताहरूले संस्थाको कार्यालय वीरगन्ज महानगरपालिका वडा नं. ९ बाट हटाई नेशनल ट्रेडिङ ओम आश्रममा सारिएको तर अहिले त्यहाँ पनि संस्था नभेटिएको बताएका छन्।
बारा जिल्ला पिप्रादि -१ हाल देवताल गाउँपालिका -४ का कुंजेश यादवले संचालन गरिरहेको यो सहकारी संस्था अहिले वीरगन्जबाट लोप भएको छ। संचालक यादवले प्रयोग गरिरहेको मोबाइल नं. ९८२८३२७७४४,९७४९९३३९३४ र ९८२११२८००५ मा सम्पर्क हुन नसकेको पर्सा जिल्ला जगरनाथपुर निवासी तथा बचतकर्ता रत्नेश चौरसियाले बताए। उनका अनुसार, उनीले सो संस्थामा २०७८ साल चैत १२ गतेदेखि दैनिक रु ५०० को दरले बचत गर्दै आएका थिए। भुक्तानीको लागि २०७९ सालमा संस्थामा गएपछि संस्था नभेटिएको र संचालक यादवले १-२ महिनापछि भुक्तानी दिने आश्वासन दिई आए पनि करिब एक महिनादेखि उनको मोबाइल सम्पर्क नहुँदा आफु चिन्तित रहेको उनले बताए।

त्यस्तै, पर्सा जिल्लाको बेलवा र हाल वीरगन्ज-१३ मा बसोबास गर्ने राकेश मल्लिकले पनि आफ्नो बचत रकम रु. ४८,१०० लिन संस्थामा गएपछि संस्था नभेटिएको बताए। उनले संचालक यादवलाई फोन गर्दा संस्था नेशनल ट्रेडिङ ओम आश्रममा सारिएको तर कार्यालय नबनेको कारण भुक्तानी दिन नसक्ने जवाफ आएको बताए। तर गत महिनादेखि संचालकको मोबाइल सम्पर्क नहुँदा दुःख व्यक्त गरे।
दुवै बचतकर्ताका अनुसार, यस संस्थाबाट ठगी भएका र बचत लिन भित्रिएका बचतकर्ताहरू भेटिएका छन्। संस्थाका संचालक तथा बारा जिल्ला निवासी कुंजेश यादवले दर्जनौं बचतकर्ताको लाखौं रकम हिनामिना गरी फरार रहेको आरोप लगाएका छन्। मल्लिकले सहकारी संस्थाका सम्पूर्ण संचालक तथा पूर्व संचालकहरू विरुद्ध कानूनी कारबाही गर्ने तयारी रहेको बताए।
यस सम्बन्धमा वीरगन्ज महानगरपालिकाको सहकारी शाखामा बुझ्दा, संस्था २ वर्षदेखि निष्क्रिय रहेको र २ वर्षको कुनै गतिविधिको अभिलेख नआएको बताइएको छ। देशमा आर्थिक स्थिति प्रतिकूल नरहेको समयमा २ वर्षसम्म सहकारीले आफ्नो गतिविधि नदेखाउँदा सरोकारवालाहरूले समेत चासो नदिँदा वीरगन्जवासी पुनः सहकारी काण्डको शिकार बन्दै आफ्नो मेहनत र पसिनाले आर्जन गरेको रकम गुमाउने त्रासमा रहेका छन्।
पीडितहरूले घर आँगन बचत तथा ऋण सहकारी संस्थाका सम्पूर्ण संचालक समितिलाई सरोकारवालाहरूले छानबिन गरी आफ्नो रकम असुल गराउन सरोकारवालाहरूसंग गुहार गरेका छन्।