२०८२ असार १७ गते, मंगलवार २२:३३

वीरगन्ज-
बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ स्थित नवजन्म पुनः स्थापना केन्द्रमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ। मृतक कलैया उपमहानगरपालिका–९, राम टोलका ३७ वर्षीय प्रदीप मण्डल हुन्। उनी सुधार केन्द्रमा रहेका बेलामा घटना घटेको हो।

मृतकका आफन्तले उनलाई सुधार केन्द्रका कर्मचारीले कुटपिट गरेर मारिएको आरोप लगाउँदै केन्द्रको परिसरमा प्रदर्शन गरेका छन्। मृतकका बुबा हिरालाल प्रसाद धानुक र दाजुले पनि प्रदीपको मृत्यु कुटपिटकै कारण भएको बताएका छन्।

घटनाको अनुसन्धान गरिरहेका बारा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार, घटनामा संलग्न नवजन्म पुनः स्थापना केन्द्रका सञ्चालक सर्फराज मन्सुरीसहित ७ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा नीरज सर्राफ, तमन्ना अली, सागर गुप्ता, मोहम्मद आसुमिया शेख, अरुण सर्राफ र परमेश्वर साह पनि रहेका छन्।

प्रहरीले केन्द्रभित्र राखिएको सिसिटिभी फुटेज हेरी मण्डलमाथि कुटपिट भएको स्पष्ट देखिएको बताएको छ। मृतकको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

मृतकका बुबा हिरालाल प्रसाद धानुकका अनुसार, एक हप्ता अघि मात्र उनले छोरालाई सुधार केन्द्रमा भेटेका थिए। भेटघाटका क्रममा प्रदीपले आफूलाई छिटो घर लैजान अनुरोध गरेको बुबाले बताए। परिवारले उनलाई यसै महिनामा घर लैजाने योजना बनाइरहेको थियो। तर, केही दिनपछि सुधार केन्द्रका व्यक्तिहरूले राति उनलाई अस्पताल लागिएको सूचना दिए। अस्पताल पुगेपछि छोराको मृत्यु भइसकेको जानकारी दिइएको उनले बताए।

मृतकका दाजुले प्रदीपको गालामा रातो डाम परेको, खुट्टाका औँलाहरूमा रगत जमेको चोट देखिएको हुँदा सुधार केन्द्रमै कुटपिट गरेर हत्या गरिएको दाबी गरेका छन्।

डिएसपी सापकोटाले सुधार केन्द्रको आन्तरिक नियमअनुसार कुटपिट गरिएको देखिएको बताए। उनले भने, “सुधार केन्द्रहरूमा अनुगमन गर्न आवश्यक छ। सुधारका नाममा कुटपिट गरिनु आपत्तिजनक हो।” घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले सुधार केन्द्रहरूको व्यवस्थापन र निगरानीमा गम्भीर खामी रहेको तथा यस्ता केन्द्रहरूमा राखिएका व्यक्तिहरूको सुरक्षा सम्बन्धी चिन्ता बढेको छ। प्रहरीले घटनाको पूर्ण अनुसन्धान गरी कारबाही गर्ने बताएको छ

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस