वीरगन्ज –
एमनेष्टी इन्टरनेशनल ग्रुप १६ वीरगन्जद्वारा राईट फर राईटू अभियान अन्तर्गत शनिवार घन्टाघरमा एक कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रमको मुख्य उद्देश्य विश्वव्यापी रूपमा ६ जना मानव अधिकार पीडित व्यक्तिहरूलाई न्याय दिलाउन र थुनामुक्त गराउन सरकारसंग दबाव बनाउनु थियो। यो अभियान बिगत एक महिनादेखि चलिआएको थियो भने आज यसको समापन भएको छ। आयोजकका अनुसार, यस अभियानमा १,२०० भन्दा बढी व्यक्तिहरूले आफ्नो समर्थन जनाउँदै हस्ताक्षर गरेका थिए।

कार्यक्रममा एमनेष्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष राजेश जैन बोथराले स्वागत मन्तव्य राख्दै संस्थाको ऐतिहासिक भूमिका र मानव अधिकारको महत्वबारे प्रकाश पार्नुभयो। उनले मानव अधिकार पीडितहरूप्रति संस्थाको प्रतिबद्धता र यस अभियानको आवश्यकताको बारेमा जोड दिए।
कार्यक्रमको अध्यक्षता मानव अधिकार परिवेक्षक रजनीश झाले गरेका थिए। कार्यक्रममा पत्रकार युवराज खडका, अभिलाष गुप्ता, एमनेष्टी इन्टरनेशनल ग्रुप १६ वीरगन्जका पूर्व संयोजक राजेश बोथरा, सुरेश पारिक, मन्नु यादव, सुनिल महतो लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मानव अधिकार शिक्षा प्रशिक्षक रजनीश झाले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र मौलिक अधिकारको महत्वबारे आफ्ना विचार राखे। उनले मानव अधिकारको संरक्षणमा एमनेष्टी इन्टरनेशनलले निर्वाह गरेको भूमिकालाई प्रशंसा गर्दै यस्ता अभियानहरू निरन्तरता दिन आह्वान गरे।
कार्यक्रममा स्थानीय शिक्षक, विद्यार्थी, सामाजिक कार्यकर्ता र अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस अभियानले मानव अधिकार पीडितहरूप्रति जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। आयोजक समितिले यस्ता कार्यक्रमहरू भविष्यमा पनि जारी राख्ने प्रतिबद्धता गरेका छन्।