२०८२ असार १७ गते, मंगलवार १६:४५

वीरगन्ज-

नाकाबाट दुई पाङ्ग्रे सवारी साधनको आयातमा उल्लेख्य वृद्धि भएको छ। मध्यम वर्गका नेपाली परिवारले सबैभन्दा बढी प्रयोग गर्ने स्कुटर र मोटरसाइकलको आयातमा १६१ प्रतिशतले वृद्धि भएको हो।

वीरगन्ज भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा २ अर्ब ५ करोड रुपैयाँ बराबरको १९ हजार ९ सय ४५ वटा मोटरसाइकल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ७६ करोड रुपैयाँ बराबरको ७ हजार ६ सय ३८ वटा मोटरसाइकल आयात भएको थियो। यस वर्ष १ अर्ब २९ करोड रुपैयाँ बढीको १२ हजार ३ सय ७ वटा मोटरसाइकल बढी आयात भएको हो।

यस वर्ष मोटरसाइकलको आयातबाट १ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष ६७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार, पछिल्लो तीन महिनादेखि दुई पाङ्ग्रे सवारी साधनको आयातमा सुधार देखिएको छ।

वीरगन्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व सवारी साधन र इन्धनको आयातबाट प्राप्त हुन्छ। दुवै वस्तुको आयात बढेपछि राजस्वमा सकारात्मक प्रभाव देखिएको छ। इन्धन र सवारी साधनको आयातमा देखिएको सुधारले आर्थिक मन्दीको प्रभाव कम हुँदै गएको संकेत दिएको जानकारहरू बताउँछन्। कोरोना महामारी र आर्थिक मन्दीले वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन ४० प्रतिशतमा सीमित भएको थियो। अहिले राजस्व संकलन लक्ष्यको ८५ प्रतिशतसम्म पुग्नु सुधारको संकेत भएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस