वीरगन्ज-
मधेस प्रदेशका प्रदेश सभा सदस्य रहबर अन्सारीले सिमेन्टको बोरा शरीरमा पहिरिएर वीरगन्जको घण्टाघरमा नारा लगाउँदै सिमेन्ट माफियाविरुद्ध अनौठो प्रदर्शन गरेका छन्। उनले ‘सिमेन्ट माफिया खबरदार, यहाँ माफिया छन् धेरै, सरकार हेरेको हेरै’ भन्दै सिमेन्टको मूल्यवृद्धि र कार्टेल प्रणालीको विरोध गरे।
अन्सारीले भने, “मूल्य बढेको बढै–हामी हेरेको हेर्यै, माफिया पालक मुर्दावाद, भोका जनता सडकमा, सरकार तडकभडकमा।” उनले सिमेन्ट उद्योगमा कार्टेल प्रणाली र मूल्यवृद्धिले आम नागरिकको घर बनाउने सपनालाई हाइज्याक गरेको बताए।

यसअघि नै सर्वोच्च अदालतमा सिमेन्ट उद्योगको कार्टेलविरुद्ध रिट दायर गरेका अन्सारीले बिहीबार वीरगन्जमा सिमेन्टको चर्को मूल्यको विरुद्ध पृथक् शैलीमा प्रदर्शन गरेका हुन्। वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रदर्शन माईस्थान, आदर्शनगर, अलखिया मठ बाट ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो।
अन्सारीले भने, “सिमेन्टको मूल्य आकासिएको छ, हामी नेपाली जनतालाई लुट्ने र ठग्ने काम भइरहेको छ। भारतमा प्रतिबोरा २ सय ८० रुपैयाँमा निर्यात नेपाली सिमेन्ट नेपालीले भने ८ सय रुपैयाँ तिर्नुपरी रहेको छ। यसले आम नागरिकको घर बनाउने सपनालाई हाइज्याक गरेको छ।”
उनले सिमेन्टको मूल्यकै कारण ४ कोठे घर बनाउनका लागि १० लाख रुपैयाँ अतिरिक्त तिर्नुपर्ने अवस्था आएको दाबी गरे। सिमेन्टको मूल्यमा भइरहेको सिन्डिकेटले गर्दा यहाँका निर्माण व्यवसायीदेखि मजदुरसम्मको काम प्रभावित भएको उनले बताए।
अन्सारीले थपे, “यो देशका १५ देखि २० जना माफियाले देशलाई बन्धक बनाएर राखेका छन्। उनीहरूले हाम्रा सपनाको विमानलाई हाइज्याक गरेका छन्।” उनले अब माफियाहरूलाई तह लगाउने समय आएको हुँदा एक भएर हातेमालो गर्न अपिल गरे।
बिहीबारको प्रदर्शन कुनै आन्दोलन नभएर आन्दोलनको बिगुल फुकेको उनले बताए। उनले सरकारलाई सिमेन्ट माफियाविरुद्ध कडा कदम चाल्न र आम नागरिकको हितमा नीतिगत निर्णय लिन आग्रह गरे।