२०८२ असार १७ गते, मंगलवार १६:५१

पर्सा-

पर्सा प्रहरीले ७६ किलोग्राम प्रतिबन्धित गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ भथौडाका १९ वर्षीय अर्जुन महतो र वडा नं. १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, अर्जुन महतोलाई बुधबार पर्सा जिराभवानी गाउँपालिका वडा नं. ३ जितपुर स्थित सडकखण्डबाट ४६ किलोग्राम गाँजा सहित पक्राउ गरिएको हो। उनले बोकेको दुबै हातमा कालो प्लाष्टिकमा राखिएको २३–२३ किलोग्रामका दुई पोकामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, असलम अन्सारीलाई पटेर्वासुगौली गाउँपालिका वडा नं. १ अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पुरानो भाठा स्थित सडकखण्डमा भाठा मन्दिरबाट शिकारी बाँस तर्फ आउँदै गर्दा ३० किलोग्राम गाँजा सहित पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। यसअघि पनि पर्सा प्रहरीले प्रतिबन्धित मादक पदार्थको तस्करी र बिक्रीसम्बन्धी गतिविधिमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कारबाही गर्दै आएको छ।

प्रहरीले स्थानीय बासिन्दालाई सचेत गर्दै यस्ता गैरकानुनी कार्यमा संलग्न नहुन र समुदायले पनि प्रहरीलाई सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस