२०८२ असार १७ गते, मंगलवार १०:४०

पर्सा-

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरका अनिल यादवको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न परिवारले माग गरेको छ। आइतबार नेपाल पत्रकार महासंघ, पर्साको सभाकक्षमा भएको पत्रकार सम्मेलनमा मृतक अनिल यादवका काका हरिन्द्र यादवले न्यायको लागि अपिल गरेका हुन्।

माघ १३ गते छिपहरमाई गाउँपालिका वडा नम्बर २ स्थित नौगावा उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अनिल यादवको हत्या भएको थियो। विद्यालयमा अध्ययनरत विजय यादवकी छोरी उज्वाला भन्ने मृता कुमारीसँग प्रेम सम्बन्ध रहेको भन्दै केटी पक्षका आफन्तहरूले अनिललाई कुटपिट गरी हत्या गरेको परिवारको आरोप छ।

परिवारका अनुसार, माघ १३ गते खाना खाएर कुखुराको औषधि किन्न वीरगन्ज आएका अनिल यादवलाई केटी पक्षका राजेन्द्र यादव, विनोद यादव, विजय यादव र हिरा साह सोनारको आदेशमा उज्वालाले प्रयोग गरी वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवास्थित मोहन साह तेलीको घरमा बोलाइएको थियो। साँझ ५ बजे त्यहाँ पुगेका अनिललाई कोठामा थुनेर कुटपिट गर्नुका साथै धारिलो हतियार र पञ्चले प्रहार गरी हत्या गरिएको र घर नजिकैको पानी भरिएको खाल्डोमा फालेको जाहेरीमा उल्लेख छ।

छरछिमेकीले अनिललाई खाल्डोबाट निकालेर एडभान्स मेडिकेयर अस्पताल लगे पनि अस्पतालले उपचार गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनलाई एल.एस. न्यूरो अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले घटनापछि अनिल यादव, विजय यादव, उज्वाला र दिव्यानी कुमारीलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये नाबालक भएकाले बाल सुधार गृहमा पठाउनुका साथै अभिभावकको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टले जानकारी दिए। उनले कानुनी प्रक्रियाअनुसार नै नाबालकलाई बाल सुधार गृहमा पठाइएको र अभिभावकको जिम्मा लगाइएको स्पष्ट पारे। अदालतको निर्णय चित्त नबुझे पुनरावेदन गर्न सकिने उनको भनाइ छ।

मृतक अनिल यादवका परिवारले घटनामा संलग्न अन्य व्यक्तिलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। उनीहरूले कानुनी प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस