२०८२ आश्विन २० गते, सोमबार १९:०१

पूर्व मन्त्री जितेन्द्र सोनलद्वारा जुनियर टि-२० क्रिकेट टूर्नामेन्टको उद्घाटन

वीरगन्ज –

नेशनल प्याब्सन पर्साद्वारा आयोजना गरिएको जुनियर टि-२० क्रिकेट टूर्नामेन्टको उद्घाटन आज वीरगन्ज महानगरपालिका स्थित नारायणी रंगशालामा भव्य समारोहका साथ सम्पन्न भयो। यस कार्यक्रमका मुख्य अतिथि पूर्व मन्त्री माननीय जितेन्द्र सोनल थिए। कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठले गरे।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष डा. नन्दन यादव, सचिव इन्द्र देव शाह, उपाध्यक्ष बिनोद गुप्ता, कोषाध्यक्ष राजेश कुमार लिम्बू, बिरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, सदस्य उतम गुप्ता, सोनालाल प्रसाद पटेल, शशी प्रकाश साह, सौकत अली, तारा श्रेष्ठ, मुनिलाल यादव लगायत टूर्नामेन्टका संयोजक सन्तोष साह सहित अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

पूर्व मन्त्री जितेन्द्र सोनलले सम्बोधन गर्दै नेशनल प्याब्सनले खेलकुद क्षेत्रमा गरेका प्रयासहरू प्रशंसनीय रहेको बताए। उनले मधेश प्रदेशमा खेलकुदको उच्च सम्भावनालाई मध्यनजर गर्दै खेलकुद मन्त्रालयले विभिन्न योजनाहरू ल्याउनुपर्ने आवश्यकता बताए। उनले क्रिकेट लोकप्रिय खेल भएको जिकिर गर्दै यस्ता टूर्नामेन्टहरूले नेपाललाई विश्वकपमा पुग्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

यस जुनियर टि-२० क्रिकेट टूर्नामेन्टमा पर्सा जिल्लाभरिका नेशनल प्याब्सनमा आवद्ध १६ वटा विद्यालयका बालबालिका विद्यार्थीहरूले भाग लिएका छन्। भाग लिने विद्यालयहरूमा ज्ञान निकेतन, विद्या सदन, सिद्धार्थ एकेडेमी, एन्जल वर्ड, ओएसिस माध्यमिक विद्यालय, मदर ल्यान्ड, पर्सा ईश्वर इङ्लिस बोर्डिङ स्कूल, आइडियल एकेडेमी, माउन्ट हर्मन, श्री जेपीएस एकेडेमी, ज्ञानोदय मावि, मिशन एकेडेमी, विभूति एकेडेमी, ममता विद्या मन्दिर, शान्ति निकेतन स्कूल, र श्री कन्हैया साह इ.बि. स्कूल समावेश छन्।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस टूर्नामेन्टले युवा प्रतिभाहरूलाई उत्कृष्ट मंच प्रदान गर्ने र खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

पोडकास्ट सुन्नुहोस