धनुषा-
धनुषा जिल्लाको सबैला नगरपालिकामा दुई पक्षबीच चोकको नामकरणलाई लिएर झडप भएको छ। झडप बढ्दै जाँदा प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ।
घटनाको सुरुवात केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेपछि भएको हो। यसको बोर्ड सडकमा राखिएपछि विवाद चुलियो। भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएका थिए।

आईतबार विहानदेखि स्थानीय बासिन्दाहरुले सबैला प्रहरी चौकी घेरेर नाराबाजी गरेका थिए। एक पक्षले ‘यादव चोक’ हुनुपर्छ भन्ने माग गर्दै आन्दोलनमा उत्रिएको छ भने अर्को पक्षले यसलाई स्वीकार नगर्ने भन्दै विरोध गरेको छ। दुई पक्षबीच तनाव बढ्दै जाँदा झडप भयो।
स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ। धनुषा प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरेको बताए। उनका अनुसार, अश्रुग्यास प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको थियो।
‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन्। चोकको विषयमा दुई पक्षबीच झडप भयो,’ उनले भने।
घटनाको बारेमा थप जानकारी लिन प्रहरीले अनुसन्धान सुरु गरेको छ। स्थानीय बासिन्दाहरुले प्रहरीले शान्तिपूर्ण तरिकाले समस्या समाधान गर्नुपर्ने माग गरेका छन्।
यस घटनाले स्थानीय स्तरमा तनाव बढाएको छ। प्रहरीले क्षेत्रमा सुरक्षा बढाएको छ भने दुई पक्षबीच छलफल गरेर समस्या समाधान गर्ने प्रयास जारी छ।