वीरगन्ज–
पर्सा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीहरूको अत्यधिक चापलाई मध्यनजर गर्दै सेवा समय विस्तार गरेको छ। कार्यालयले सोमबार एक सूचना जारी गर्दै चैत्र ५ गतेदेखि सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ७:३० बजेदेखि साँझ ७:०० बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य सञ्चालन हुने जानकारी दिएको छ।
पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीहरूको संख्यामा उल्लेख्य वृद्धि भएपछि सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन कार्यालयले यो निर्णय लिएको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले बताए।
“सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै हामीले सेवा समय विस्तार गरेका छौं। यसले सेवाग्राहीहरूलाई सहजता प्रदान गर्ने विश्वास लिएका छौं,” कार्कीले भने।

कार्यालयले सेवाग्राहीहरूलाई समयको सदुपयोग गरी तोकिएको समयमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। साथै, कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन आवश्यक तयारी गरिरहेको पनि जनाएको छ।
राष्ट्रिय परिचयपत्र नेपाल सरकारले जारी गरेको बहुउपयोगी परिचयपत्र हो, जसले नागरिकता, मतदाता परिचयपत्र, व्यक्तिगत विवरण लगायतका महत्वपूर्ण जानकारीहरू समावेश गर्दछ। यो परिचयपत्र विभिन्न सरकारी तथा गैरसरकारी सेवाहरू प्राप्त गर्न आवश्यक पर्दछ।
सेवाग्राहीहरूले थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय पर्साको आधिकारिक वेबसाइट www.daoparsa.moha.gov.np मा गएर हेर्न सक्नेछन्।