२०८२ असार १७ गते, मंगलवार १६:३१

महोत्तरी-

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा नम्बर ८ स्थित टिकुलियादेखि सुसौलासम्मको सडक स्तरोन्नतीको शिलान्यास गर्न पुगेका मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको गाडीमा स्थानीयले ढुंगामुढा गरेका छन् ।

स्थानीयको सहभागिता बिना नै उपभोक्ता समिति गठन गरी ठेकेदारमार्फत सडक स्तरोन्नतीको कार्य गराउन लागेको भन्दै स्थानीयले विरोध गरेका थिए । उनीहरूले शिलान्यास कार्यक्रममा अवरोध पुर्‍याएका थिए ।

स्थानीयका अनुसार, मन्त्री यादव शिलान्यास कार्यलाई केही मिनेटमै सकेर भागेका थिए । ५० लाख रुपैयाँको योजना रहेको सो सडक निर्माण कार्य अवरुद्ध भएको छ । नेकपा माओवादी केन्द्रका नेताहरूले मन्त्री यादवले योजना बेचेको आरोप लगाएका छन् ।

घटनामा मन्त्रीको गाडीमा ढुंगामुढा भएको र एउटा स्कोर्पियो गाडीको सिसा फुटेको छ । स्थानीयले निर्माण सामग्री लिएर आउँदै गरेको टिपरको सिसा पनि फुटाएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, तनावपूर्ण स्थिति रहे पनि उच्च सुरक्षा सतर्कता अपनाइएको थियो । जसका कारण कुनै अप्रिय घटना हुन पाएन ।

मन्त्री यादवले भने शान्तिपूर्ण ढंगले स्थानीयको उपस्थितिमा शिलान्यास सम्पन्न भएको दाबी गरेका छन् । उनले निर्धारित समयभित्रै सडक स्तरोन्नतीको काम पूरा हुने बताएका छन् ।

स्थानीयले उपभोक्ता समिति गठन प्रक्रियामा असन्तुष्टि जनाएका छन् । उनीहरूले वडा कार्यालयले उपभोक्ता समिति गठन गर्न अस्वीकार गरेपछि पालिकाबाट नै सोझै समिति गठन गरिएको बताएका छन् ।

योजना बिक्री गरेको आरोप लागेपछि जिल्ला पूर्वाधार विकास कार्यालय महोत्तरीको ताला खोलिएको छ । तर कार्यालय प्रमुखले कागजात झोलामा राखेर बाहिरबाट काम गरिरहेको आरोप लागेको छ ।

मधेश प्रदेशका आठवटै जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनाहरू बिक्री गरिएको आरोप लागेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस