वीरगन्ज-
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज वीरगन्जमा भव्य स्वागत गरिएको छ। ‘जनतासँग माओवादी’ हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान अन्तर्गत प्रचण्ड वीरगन्ज आएका हुन् ।
पर्सामा माओवादीले आज दिनभर विभिन्न कार्यक्रम आयोजना गरेको छ । बिहान मर्निङ वाकसँगै जनता भेटघाट कार्यक्रमबाट सुरु भएको अभियानमा बिहान ६ः३० बजे चियापान तथा विचार गोष्ठी सम्पन्न भएको छ । बिहान ९ः०० बजे विभिन्न समूहगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने छ भने ११ः३० बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
त्यसैगरी, बहुआयामिक प्रस्तुति, संगठनात्मक छलफल तथा समूहगत समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ । दिउँसो १ः३० बजे पर्साको बहुअर्वाभाठामा जनसंवाद कार्यक्रम सञ्चालन भएको छ ।
कार्यक्रमको अन्त्यमा साँझ ३ः३० बजे पार्टी नेतृत्वको समीक्षा बैठक सहित कार्यक्रम समापन भएको माओवादीले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का नेताहरूका अनुसार यो अभियान मधेशमा पार्टीलाई पुनः सशक्त बनाउने रणनीतिको रुपमा अगाडि बढाइएको हो ।
मधेशमा माओवादीको उपस्थिति कमजोर हुँदै गएको विश्लेषण भइरहेका बेला प्रचण्डको यो अभियानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डको आगमनले मधेशमा माओवादी कार्यकर्ताहरूमा नयाँ उत्साह थपिएको छ ।