जनकपुरधाम-
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले अपाङ्गता भएका व्यक्तिलाई जीवनयापनमा सहजताका लागि आत्मनिर्भर बनाउनु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले युरोपियन यूनियन र युनिसेफको सहयोग तथा लाइफ नेपालको समन्वयमा बिहीबार जनकपुरधाममा आयोजित अपाङ्गता सम्बन्धी विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जयसवालले प्रदेश सरकारले अपाङ्गता सहितका विभिन्न विषयलाई समेटेर एकीकृतरुपमा समाज कल्याण ऐन ल्याउन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा समाजिक न्याय समितिका मधेश प्रदेशका सभापति रुपा यादवले अपाङ्गता भएकाको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकारलाई दबाब दिने बताउनुभयो । युनिसेफका अपाङ्गता समन्वय अधिकृत जमुना सुवेदीले समाजमा अहिले पनि अपाङ्गता भएकालाई हेर्ने दृष्टिकोणका कारण उनीहरु समस्यामा पर्ने गरेको बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका अध्यक्ष किरण पासवानले समाजमा निर्मित भौतिक संरचनाहरु अपाङ्ग मैत्री हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर, खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका उपसचिव देव कुमारी खत्री लगायतले पनि आ-आफ्नो धारणा राख्नुभएको थियो । खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका निमित्त सचिव चुडामणि फुयालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।