रौतहट –
जिल्ला प्रहरी कार्यालय रौतहटले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोर्न प्रयोग गर्न ल्याइएका १ हजार ४ सय २४ मोबाइल फोन बरामद गरेको छ। बिहीबार प्रहरीले परीक्षाको मर्यादा उल्लंघन गर्ने प्रयासमा संलग्न दुई जनालाई पक्राउ समेत गरेको छ।
प्रहरीका अनुसार रौतहटको यमुनामाई गाउँपालिका-५ स्थित यमुनामाई माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा निरीक्षकले नै केही रकम लिएर मोबाइल फोन प्रवेश गराएको खुलासा भएको छ। त्यस्तै, मौलापुर नगरपालिका-५ मा रहेको लक्ष्मीपुर माध्यमिक विद्यालय परीक्षा केन्द्रबाहिर चिट उपलब्ध गराउने कार्यमा संलग्न एक जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले पक्राउ परेकाहरूविरुद्ध कानुनी कारबाही अगाडि बढाइएको जानकारी दिए। “पक्राउ परेका दुवै व्यक्तिलाई सम्मानित जिल्ला अदालतबाट म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ,” उनले भने। प्रहरीले पक्राउ परेकाहरूको नाम भने गोप्य राखेको छ।
परीक्षाको मर्यादा कायम राख्न र निष्पक्षता सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालयले विशेष निगरानी बढाएको जनाएको छ। विगतमा मेसेन्जर, ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालका ग्रुपमार्फत चिट आदानप्रदान गर्ने प्रवृत्ति बढेको पाइएपछि यस वर्ष परीक्षा प्रणालीलाई थप कडाइ गरिएको प्रहरीको भनाइ छ।
“परीक्षालाई स्वच्छ र मर्यादित बनाउन हामी प्रतिबद्ध छौं। कुनै पनि अनियमितता गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याइनेछ,” डीएसपी रायले थपे। प्रहरीले बरामद गरिएका मोबाइल फोन र पक्राउ परेकाहरूको संलग्नताबारे थप अनुसन्धान जारी राखेको छ।