जनकपुरधाम –
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवमाथि ठगी धन्धामा संलग्न रहेको गम्भीर आरोप लागेको छ। नेकपा एमालेका स्थानीय कार्यकर्ता सुजित कुमार कापरीमार्फत मन्त्री यादवले मेसिनरी तथा उपकरण सामग्री खरिद र कमिसनको नाममा रकम लिएर ठगी गरेको भन्दै आरके शाह मेसिनरी प्रालिका प्रबन्ध निर्देशक राजेशकुमार शाहले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन्।
प्रबन्ध निर्देशक शाहका अनुसार, जीटेक ट्रेड एण्ड इन्जिनियरिंग प्रालिका प्रोप्राइटरसमेत रहेका एमाले धनुषाका कार्यकर्ता कापरीले गत असार महिनामा आरके शाह मेसिनरीबाट ४ लाख ६० हजार ८ सय रुपैयाँ बराबरको मेसिनरी तथा उपकरण उधारोमा खरिद गरेका थिए। त्यस्तै, कमिसनको नाममा कापरीले शाहसँग १ लाख ३० हजार रुपैयाँ नगद लिएका थिए। “दुई दिनमा सबै रकम भुक्तानी गरिदिन्छु भनेर सामान र पैसा लगेका थिए, तर ९ महिना बितिसक्दा पनि कापरीले मन्त्री यादवको नाम लिएर धम्क्याउँदै भुक्तानी गर्न आनाकानी गरे,” शाहले भने।

रकम फिर्ता नपाएपछि शाहले कापरीविरुद्ध धनुषा प्रहरीमा ठगीको उजुरी दिए। उजुरीपछि प्रहरीले कापरीलाई छलफलका लागि बोलाउँदा उनले भ्याटसहित ५ लाख २० हजार र कमिसनको १ लाख ३० हजार गरी कुल ६ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्ने वाचा गरे। तर, पछि कापरीले सिटिजन्स बैंकको चैत १५ गतेको ६ लाख रुपैयाँको चेक दिए पनि उक्त खातामा रकम नभएको पाइएको छ। “बैंकमा पैसा नै छैन, चेक बाउन्स भयो। म दोधारमा परेँ,” शाहले गुनासो गरे। उनले ५० हजार नोक्सान सहेर भए पनि ६ लाख एकमुष्ट लिन बाध्य भएको बताए। चेक बाउन्स भएपछि शाहले पुनः प्रहरीमा उजुरी दर्ता गराएका छन्।
शाहले मन्त्री यादव र कापरीको मिलेमतोमा ठगी भएको दाबी गरेका छन्। “मन्त्रालयले रकम भुक्तानीको तोकादेश गरेको कागज देखाएर कमिसन दिनुपर्छ भन्दै १ लाख ३० हजार लगे। मन्त्रालयमा पटक-पटक गुनासो गर्दा पनि सुनुवाइ भएन, उल्टै थर्काउने काम भयो,” शाहले आरोप लगाए। उनले मन्त्री यादवले आफ्ना कार्यकर्तामार्फत ठगी धन्धा सञ्चालन गरेको प्रमाणित भएको बताए।
धनुषा प्रहरीले चेक बाउन्सको उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ। यता, मन्त्री यादव र कापरीबाट भने यसबारे कुनै प्रतिक्रिया आएको छैन। यो घटनाले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमाथि गम्भीर प्रश्न उठाएको छ भने स्थानीय व्यापारी र सर्वसाधारणमा आक्रोश बढ्दै गएको छ।