२०८२ असार १७ गते, मंगलवार १६:३१

बारा –

जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।बुधवार बिहान ११:३० बजेको समयमा कलैया उपमहानगरपालिका वडा नं. ३, चितरागुप्ता चौकमा गस्तीमा रहेको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारेका दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पारण वडा नं. १२ का ३१ वर्षीय त्र्याक्टर चालक देशी भारतीय र सोही ठाउँका ३० वर्षीय अर्का व्यक्ति रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ९४६ ग्राम ९३० मिलिग्राम लागुऔषध बरामद गरेको छ । बरामद गरिएको लागुऔषधमा ९४६ ग्राम ९३० मिलिग्राम चरेश रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त लागुऔषधसहित त्र्याक्टर (नं. बीआर ०५ जीए १३१६) र त्र्याक्टरमा सवार दुवै व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ । प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको खोजी र अनुसन्धानलाई तीव्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले लागुऔषध नियन्त्रणका लागि प्रहरीले कडा निगरानी राखिरहेको बताए । उनले सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करीको जोखिम बढिरहेकाले थप सतर्कता अपनाइएको जानकारी दिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस