२०८२ पुष २७ गते, आईतवार ००:०७

पर्सामा नगरस्तरीय निःशुल्क आँखा शिविर सम्पन्न: २०० जनाले गराए चेकअप, ३२ जनामा मोतियाबिन्दु फेला

पर्सा–

बहुदरमाइ नगरपालिकाकी उपमेयर सुष्मा कुशवाहाको सहयोगमा नारायणी आँखा अस्पताल प्रालि, वीरगन्जले आयोजना गरेको नगरस्तरीय निःशुल्क आँखा शिविरको पहिलो दिन सम्पन्न भएको छ। दुई दिनसम्म चल्ने यो शिविरमा आज पहिलो दिन २०० जनाले आँखाको जाँच गराएका छन्।

शिविरको पहिलो दिन बिहीबार, चैत २८ गते, श्री न.र. सिताराम महतो माध्यमिक विद्यालय, भोरतार, बहुदरमाइ नगरपालिका वडा नं. ५, पर्सामा सञ्चालन भएको थियो। दोस्रो दिन शुक्रबार, चैत २९ गते, श्री नागरदहा स्वास्थ्य चौकी, बहुदरमाइ नगरपालिका वडा नं. ३, पर्सामा आयोजना हुने छ। दुवै दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने यो शिविरमा मोतियाबिन्दुका बिरामीहरूका लागि निःशुल्क अप्रेशनको व्यवस्था पनि गरिएको छ।

आयोजक नारायणी आँखा अस्पतालका अनुसार बिहीबारको शिविरमा २०० जनाले आँखाको जाँच गराएका थिए। तीमध्ये ३२ जनामा मोतियाबिन्दु फेला परेको छ र उनीहरूको अप्रेशन अति आवश्यक रहेको अस्पतालले जनाएको छ। ती ३२ जनाको निःशुल्क अप्रेशन गरिने आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ।

शिविरको सम्पूर्ण व्यवस्थापन उपमेयर सुष्मा कुशवाहाको बजेटबाट गरिएको छ। अस्पतालका अनुसार शिविरमा सहभागी बिरामीहरूको खाना, खाजालगायत सम्पूर्ण व्यवस्था उपमेयरको बजेटबाटै सम्भव भएको हो। उपमेयर कुशवाहाले यस्ता स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई ठूलो राहत प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

स्थानीय बासिन्दाहरूले यस्ता शिविरले ग्रामीण क्षेत्रका मानिसहरूलाई स्वास्थ्य सेवामा पहुँच सहज बनाएको भन्दै आयोजक र नगरपालिकाको प्रशंसा गरेका छन्। यो शिविरले आर्थिक रूपमा विपन्न र आँखासम्बन्धी समस्याबाट पीडित व्यक्तिहरूलाई ठूलो राहत प्रदान गरेको छ।

पोडकास्ट सुन्नुहोस