२०८२ असार १७ गते, मंगलवार १६:२३

काठमाडौं-

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयास सकारात्मक रहे पनि युवाहरुको चाहना पूरा गर्न पर्याप्त नरहेको बताउनुभएको छ ।

बिहीवार महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी रहेको जिकिर गर्दै देशमै आशा जगाउनका लागि काम गरिरहेको बताउनु भयो ।

उहाँले देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न नसकेसम्म निराशालाई आशामा बदल्न नसकिने बताउनु भयो । उहाँले रोजगारी प्रदान गर्न सरकारको सिमितता रहेको भन्दै अहिले करिव पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको उल्लेख गर्नुभयो ।

निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको भएपनि हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिव पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि नरहेको जिकिर गर्नुभयो । अध्यक्ष ढकालले अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रलाई निर्वाध काम गर्न दिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली भएको उल्लेख गर्दै मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु रहेको जिकिर गर्नुभयो । उहाँले त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी जरुरी हुने उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले अहिले अवस्था असहज छ तर सुधार असम्भव नरहेको बताउनु भयो ।

अर्थतन्त्र, विकास र सम्मृद्धिमा राजनितिक दलहरुको साझा धारणा बनाउन सक्नुपर्ने बताउनु भयो । निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जीविकामा प्रतिकुल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनु नहुने बताउनु भयो । अब आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस