२०८२ असार १७ गते, मंगलवार १०:३४

काठमाडौँ –

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले आफ्ना सबै तहका नेताहरूलाई अनिवार्य रूपमा आर्थिक सहयोग गर्न निर्देशन जारी गरेको छ। पार्टी अध्यक्ष महतोले जारी गरेको सर्कुलरमा पार्टीको केन्द्रीय कोषमा सबै समितिका सदस्य तथा पदाधिकारीहरूले आफ्नो क्षमता अनुसार एकपटकको लागि रकम जम्मा गर्नुपर्ने उल्लेख छ।

सर्कुलरमा भनिएको छ, “केन्द्रीय सदस्य, राष्ट्रिय सदस्य, जिल्ला संयोजक/अध्यक्ष, क्षेत्रीय संयोजक/अध्यक्ष, पालिका संयोजक/अध्यक्ष र वडा संयोजक/अध्यक्षहरूले कम्तीमा ५० वटा सहयोग रसिद भएको एउटा ठेली बराबरको चन्दा संकलन गर्नुपर्नेछ। साथै, कम्तीमा ५० वटा पार्टी सदस्यता रसिद भएको एउटा ठेली पनि वितरण गर्नुपर्नेछ।” सहयोग रसिदबाट चन्दा संकलन गर्दा एउटा रसिद बापत न्यूनतम १०० रुपैयाँ उठाउनुपर्ने व्यवस्था गरिएको छ।

चन्दा संकलनको समन्वयमा केन्द्रीय सदस्य र राष्ट्रिय सदस्यको हकमा केन्द्रीय अर्थ समिति, राष्ट्रिय परिषद्को हकमा परिषद् र जिल्ला मातहतको हकमा जिल्ला संयोजकले जिम्मेवारी लिने सर्कुलरमा उल्लेख छ।

संकलित रकमको बाँडफाँडमा पनि स्पष्ट व्यवस्था गरिएको छ। केन्द्रीय सदस्य र राष्ट्रिय सदस्यले उठाएको सहयोगको २० प्रतिशत खर्च कटाई बाँकी ८० प्रतिशत केन्द्रीय कोषमा जम्मा गर्नुपर्नेछ। त्यस्तै, राष्ट्रिय परिषद् र जिल्ला तहमा उठाइएको रकमको २० प्रतिशत संकलन गर्ने व्यक्तिले, ५० प्रतिशत समन्वय गर्ने समितिले र ३० प्रतिशत केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने नियम बनाइएको छ।

पार्टी स्रोतका अनुसार यो निर्णयले संगठनको आर्थिक सुदृढीकरण र सदस्यता विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, यो नियमले तल्लो तहका नेताहरूमाथि आर्थिक दबाब बढ्न सक्ने भन्दै केही असन्तुष्टि पनि व्यक्त भएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस