काठमाडौं-
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विश्वको स्थायित्व र राजनीतिक स्थिरताका लागि चीनको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाल–चीन इकोनोमिक एण्ड बिजनेस समिट–२०२५’ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वमा देखिएको राजनीतिक घटनाक्रमले राजनीतिक अर्डर नै फेरबदल हुनसक्ने अवस्था सिर्जना भएकाले चीनले सबैभन्दा बढी नजिकबाट नियालिरहेको बताउनु भयो ।

उहाँले नेपालको कमजोर अर्थप्रणालीलाई बलियो बनाउन चीनसँग पर्यटन आदानप्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भयो । वार्षिक ५० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने वातावरण निर्माण गर्नसके छोटो समयमा नेपालको अर्थतन्त्र बलियो भइ जिडिपीमा ठूलो परिवर्तन हुने उहाँको भनाइ छ ।
उहाँले नेपालमा भएका विभिन्न उत्पादनमार्फत लाभ लिएर अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले उत्पादनमुखी भएर आफ्नो अर्थतन्त्र बलियो बनाउने क्षमता नभइ दाताहरुको सहयोगले मात्रै केही गर्न नसकिने बताउनु भयो । नयाँ परिवेशबाट गुज्रिरहेको विश्वपरिवेशबाट नेपालमा पर्नसक्ने आर्थिक तथा राजनीतिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने उहाँको भनाइ छ । उपाध्यक्ष पाण्डेले नेपालको आर्थिकलगायत विभिन्न क्षेत्रको विकासमा चीनको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो ।
उहाँले नेपाल सँधै एक चीन नीतिमा अडिग रहेको बताउनु भयो ।