२०८२ असार १७ गते, मंगलवार १३:४८

काठमाडौं-
तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईँलाई शुक्रबार पक्राउ गरी म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ। प्रहरीले उनलाई झापाबाट पक्राउ गरी भद्रपुर हुँदै काठमाडौं ल्याएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईँलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको हो। प्रहरीका अनुसार प्रसाईँमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको मृत्यु भएको थियो भने ठूलो जनधनको क्षति भएको थियो। उक्त घटनापछि प्रसाईँ फरार रहेका थिए। प्रहरीले उनलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेको थियो।

प्रसाईँमाथि प्रदर्शनका क्रममा हिंसा भड्काएको र प्रहरीलाई गाडीले पेल्ने प्रयास गरेकोलगायतका आरोप लागेका छन्। अदालतले म्याद थप गरेपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस