वीरगन्ज-
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक भगवान् महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको प्रेरणा लिनुपर्ने बताउनुभएको छ। जैन श्वेताम्बर तेरापन्थी सभा वीरगन्जले महावीर जन्मजयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले अहिंसाको सत्मार्गलाई सबैले पालना गर्नुपर्ने धारणा राख्नुभयो।
“मानवजाति पछिल्लो समय भागदौड र प्रतिस्पर्धामा जुटिरहेको छ। यस्तो अवस्थामा भगवान् महावीरका उपदेश उत्तिकै सान्दर्भिक छन्,” मुख्यमन्त्री सिंहले भन्नुभयो, “जैन संस्कृति र सभ्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी छ।” उहाँले अहिंसा र मानवतावाद अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा फरक प्रसङ्गमा कुरा गर्दै मुख्यमन्त्री सिंहले पर्साको सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि स्थानीय र प्रदेश सरकारले सहकार्य गर्नुपर्ने बताउनुभयो। “सिर्सिया नदी कुनै समय स्वच्छ र पवित्र थियो, जहाँ स्नान गर्दा रोग निको हुने जनविश्वास थियो। तर, प्रदूषणले यो समस्याग्रस्त भएको छ। अब सबै मिलेर यसलाई स्वच्छ र हरियाली बनाउन अग्रसर हुनुपर्छ,” उहाँले भन्नुभयो।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भगवान् महावीरको अहिंसाको मार्ग सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो। “जैन धर्मावलम्बीहरू यहाँ कम सङ्ख्यामा भए पनि गुणात्मक काम गर्दै आएका छन्। आगामी दिनमा पनि सामाजिक र प्रेरणादायी कार्यमा सक्रिय रहन अनुरोध छ,” उहाँले भन्नुभयो।
भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देविसहाय मिनाले महावीरका सत्कर्म र भावनालाई व्यावहारिक जीवनमा उतार्नुपर्नेमा जोड दिनुभयो। जैन श्वेताम्बर तेरापन्थी महासभाका उपाध्यक्ष अशोककुमार वैदले महावीरले प्रतिपादन गरेको अहिंसावादी विचारको प्रचार र अनुशरण आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा भगवान् महावीरले अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्यजस्ता आदर्शलाई प्रतिपादन गरेको जानकारी दिइयो। महावीर जन्मजयन्तीको अवसरमा आयोजित यो कार्यक्रमले अहिंसा र सत्कर्मप्रति सबैलाई प्रेरित गरेको थियो।