२०८२ असार १७ गते, मंगलवार १०:५९

वीरगन्ज-

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले पर्सामा पार्टीभित्रको अन्तरद्वन्द अन्त्य गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार वीरगन्जमा आयोजित नेकपा एमाले वीरगन्ज महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका हजराले पर्सामा एमालेभित्रको अन्तरद्वन्दले पार्टीलाई ठूलो नोक्सान भइरहेको उल्लेख गर्नुभयो।

“हामीमा केही अन्तरद्वन्द र मनमुटाव छन्। यसले पार्टीलाई ठूलो नोक्सान पुर्‍याइरहेको छ,” हजराले भन्नुभयो। उहाँले २०८४ को निर्वाचनमा पर्साका १४ वटै पालिका, ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेलाई विजयी बनाउन अहिलेदेखि नै रणनीतिक रूपमा लाग्नुपर्ने बताउनुभयो। “यदि हामीले अहिलेदेखि मेहनत गर्‍यौँ भने सम्पूर्ण पर्सा जिल्ला एमालेमय हुनेछ,” उहाँले थप्नुभयो।

हजराले पार्टीको तीनमहिने अभियानअन्तर्गत सञ्चालित अधिवेशनहरूको सन्दर्भमा पर्सा जिल्लामा पार्टी सदस्यता नवीकरण प्रक्रिया पारदर्शी नभएको आरोप पनि लगाउनुभयो। “सदस्यता नवीकरण विधानसम्मत र पारदर्शी नभए संगठन विस्तारमा समस्या आउन सक्छ,” उहाँले भन्नुभयो। यसतर्फ जिल्लाका सबै नेताहरूले गम्भीर ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा हजराले नेताहरूलाई एकताबद्ध भएर पार्टीलाई बलियो बनाउन र आगामी निर्वाचनमा जित सुनिश्चित गर्न सामूहिक प्रयासमा लाग्न आह्वान गर्नुभयो। अधिवेशनले वीरगन्ज महानगर कमिटीको नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजनाहरू तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस