काठमाडौं–
नयाँ वर्ष २०८२ को शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि तन्त्र वा वाद नागरिक स्वतन्त्रताभन्दा ठूलो नहुने बताएका छन्। प्रजातन्त्रको मर्मबारे बोल्दै उनले जनताको गुनासो सुन्नुपर्नेमा जोड दिए। उनले भने, “वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो–नराम्रो, गुणगान वा गुनासो सुन्ने संस्कार र परम्परा हुन्छ।”
हालै तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा भएको हिंसा, आगजनी र तोडफोडको घटनालाई सम्झँदै उनले दुख व्यक्त गरे। “केही दिनअघि जनप्रदर्शनमा भएको हिंसा, आगजनी र तोडफोडबाट भएको मानवीय र भौतिक क्षतिले हामीलाई अत्यन्त दुखी बनाएको छ। नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै तन्त्र वा वाद हुँदैन,” उनले भने।

शाहले नेपाली जनतामा देश र भविष्यप्रति देखिएको जागरुकताको प्रशंसा गर्दै यसलाई सकारात्मक रूपमा लिएको बताए। उनले नेपाली जनताको देशभक्तिपूर्ण भावनालाई विश्वमै अनुकरणीय र अनुशरणीय भएको उल्लेख गरे। “देश र भविष्यलाई लिएर नेपाली जनतामा जुन जागरुकता देखिएको छ, त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ,” उनले थपे।
नयाँ वर्ष २०८२ मा जनताको चाहनाअनुसार परिणाम हासिल हुने विश्वास व्यक्त गर्दै उनले राजसंस्था पुनर्स्थापनाको संकेत गरे। “देशलाई जटिलताबाट मुक्त गरी शान्त, स्थिर र समृद्ध बनाउने जागरुकता बढेको छ। यो वर्ष जनचाहनाअनुसारको परिणाम प्राप्त हुने विश्वास छ,” उनले भने।
नेपालको राजसंस्थाले सधैं अशान्ति, अराजकता र असन्तुष्टिबाट जनतालाई मुक्त गर्न योगदान दिएको स्मरण गर्दै शाहले राष्ट्रियता र प्रजातन्त्रलाई मुख्य कार्य मानेको बताए। उनले बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको परम्पराप्रति आफ्नो मान्यता रहेको स्पष्ट पारे। “राज्यशक्तिको स्रोत जनता हुन्, र जनचाहनाको कदर सधैं हुनुपर्छ,” उनले भने, जनतालाई राजसंस्थाको भावना र मर्म बुझाउने प्रयास गरे।
शाहको यो सन्देशले नेपालको राजनीतिक भविष्यबारे बहस चर्किरहेको बेला स्थिरता र राष्ट्रिय एकताको पक्षमा जनमतलाई समेट्ने प्रयास गरेको देखिन्छ।