२०८२ असार १७ गते, मंगलवार १६:२९

वीरगन्ज-

हनुमान जयन्तीको शोभायात्रामा भएको झडपपछि वीरगन्जमा लगाइएको निषेधाज्ञाका कारण यस वर्षको नयाँ वर्ष यहाँका बासिन्दाका लागि फिक्का बनेको छ। गत चैत ३० गतेको घटनापछि लगाइएको कर्फ्यूका कारण वीरगन्जवासीले अन्य वर्षझैँ नयाँ वर्षको उमंग र खुशियाली साट्न पाएनन्।

नयाँ वर्षलाई लक्षित गरी वीरगन्ज महानगरपालिकाले आयोजना गरेको रात्रि बजार पनि निषेधाज्ञाका कारण शनिबार र आइतबार दुई दिन सञ्चालन हुन नसक्दा स्थगित गरिएको छ। होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले वीरगन्जमा उत्पन्न असहज परिस्थितिका कारण बुकिङ भएका होटलहरू समेत धमाधम खाली भएको जानकारी दिए।

‘नयाँ वर्ष मनाउन आएका भारतीय पाहुना पनि निषेधाज्ञाका कारण होटल छाडेर फर्किनुभएको छ,’ उनले भने, ‘नयाँ वर्ष मनाउन आएका पाहुना एकाएक फर्किँदा यहाँको पर्यटन व्यवसाय थप धराशायी हुने अवस्थामा पुगेको छ।’ अध्यक्ष पन्तका अनुसार नेपाली नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको दिन वीरगन्जका होटलहरू भारतीय पाहुना तथा स्वदेशी पर्यटकले भरिभराउ हुने गर्दथे। तर, अहिले निषेधाज्ञाका कारण कोही पनि घरबाट निस्किन पाइरहेका छैनन्। नयाँ वर्षको पूर्वसन्ध्या चैत ३० गते बेलुका ६:३० बजेदेखि चैत ३१ गते राति १२ बजेसम्म लगातार निषेधाज्ञा जारी गरिएको थियो।

उनले नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगन्जका होटल ५५ प्रतिशत भरिएको भए पनि अहिले पाहुनाहरू होटल खाली गरेर गएको दाबी गरे। वीरगन्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरी क्यासिनोसहितका सुविधासम्पन्न तारे होटलहरू पनि सञ्चालनमा छन्। वीरगन्जका तारे होटलमा दियालो लर्ड्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, सुरज होटललगायत रहेका छन्।

वीरगन्ज बजार क्षेत्रमा मात्रै साना ठूला गरी ८५ भन्दा बढी होटल तथा लज रहेका छन्। ‘बन्द हड्तालका कारण होटल मात्र नभई सबै प्रकारका व्यापार व्यवसायमा प्रत्यक्ष असर परिरहेको छ,’ उनले भने, ‘बन्द, हड्ताल, निषेधाज्ञाजस्ता गतिविधि सधैंका लागि बन्द हुनुपर्नेमा यस्ता गतिविधि हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित हुने गरेको छ।’

एकतर्फ व्यापारिक तथा औद्योगिक सहरको छवि र अर्कोतर्फ पर्यटकीय गन्तव्यको प्रचारप्रसारको कमीका कारणले पनि वीरगन्जमा अपेक्षाकृत पर्यटक भित्रिन सकिरहेका छैनन्। सीमावर्ती रक्सौल नाका हुँदै मासिक हजारौंको संख्यामा भारतीय पर्यटक नेपाल आइरहेका हुन्छन्।

आकर्षक गन्तव्यको अभावमा भारतीय पर्यटकलाई वीरगन्ज आसपासको क्षेत्रमा रोक्न सकिएको छैन। जसले गर्दा यहाँको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परिरहेको छ। भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले वीरगन्जलाई केवल बाटोका रूपमा मात्रै प्रयोग गरिरहेका छन्। जसका कारणले वीरगन्जको पर्यटन क्षेत्रले त्यसको लाभ उठाउन सकिरहेको छैन। त्यही समस्यालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई कम्तीमा पनि दुई रात पर्सा आसपासकै क्षेत्रमा बसोबास गर्ने वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिइरहेको जनाएको छ।

वीरगन्जमा करिब १० अर्बभन्दा बढी लगानीमा तारे तथा अन्य होटल सञ्चालनमा रहेका छन्। निषेधाज्ञाका कारण होटल व्यवसाय ठप्प हुँदा करोडौंको नोक्सानी भएको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस