२०८२ असार १७ गते, मंगलवार २०:३६

काठमाडौं-

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य र प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जलवायु परिवर्तनको विषयमा संघीय संसदका दुवै सदनका सांसदहरु सम्मिलित फोरम बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

हालैमात्र शाक्य अन्तरव्यवस्थापिका संघ (आइपियु) को दिगो विकास स्थायी एशिया—प्रशान्त क्षेत्रबाट विजयी हुनुभएको छ भने गौतम पनि १५० औं अन्तरसंसदीय संघ (इन्टर पार्लियामेन्ट्री युनियन आईपीयू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित हुनुभएको छ ।

मंगलवार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५० औं महासभाबाट नेतृत्व लिनुभएका डा. अञ्जान शाक्य र सोविता गौतमको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै दुवै सांसदहरुले जलवायु परिवर्तनका लागि संयुक्त फोरम निर्माण गर्नुपर्ने बताउनुभएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य शाक्यले जलवायु परिवर्तनको मुद्दा हेर्नका लागि पनि राष्ट्रिय सभा र प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु समेत अट्ने गरी संयुक्त समिति बनाउनुपर्नेमा जोड दिनुभयो ।

देश निर्माणका लागि बजेट निर्माण सम्बन्धी संयुक्त कमिटी बनाउनुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय फोरमहरुसँग सम्बन्धित विभिन्न समितिमा नेपालको उपस्थिति कमजोर रहेको भन्दै अब नेपालले सहभागिता बढाउने गरी अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । त्यसको लागि आन्तरिक तयारीलाई पनि त्यत्तिकै जोड दिन आवश्यक रहेको उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले जलवायु परिवर्तनको मुद्दा हेर्नका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु सहभागी संयुक्त फोरम बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

जलवायु परिवर्तनका मुद्दाहरु राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास लगायतका समितिहरुमा छलफल हुने गरेको भएपनि संसदमा पनि छुट्टै कमिटी बनाउन जरुरी देखिएको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनको मुद्दा नेपालका लागि महत्वपूर्ण विषय रहेकाले फोरम बनाएर अघि बढ्दा कतिपय समस्या समाधान हुनेमा जोड दिनुभयो ।

सांसदहरुले आइपियुमा भाग लिन हरेक ६ महिनामा जानुपर्ने भएकाले नयाँ टिमलाई भाग लिइसकेका सांसदहरुले जानकारी गराउनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस