काठमाडौँ-
थाइल्याण्डको बैंककमा आयोजित एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रमा सहभागी हुन पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राष्ट्रसंघीय उच्च प्रतिनिधि राबाब फातिमासँग भेटवार्ता गरेकी छन्। मंगलबार युएनस्केपको सत्रका अवसरमा भएको यो भेटमा विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा अल्पविकसित मुलुकहरू, भूपरिवेष्ठित विकासशील मुलुकहरू र साना टापु विकासशील राष्ट्रहरूको लागि राष्ट्रसंघीय उच्च प्रतिनिधि फातिमाले नेपालको अल्पविकसित मुलुकबाट स्तरउन्नति (ग्र्याजुएसन) लगायतका विषयमा छलफल गरेकी थिइन्। यी विषयहरूमा नेपालको प्रगति र भावी रणनीतिबारे विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

यसै सत्रमा परराष्ट्रमन्त्री राणाले युएनस्केपको ८१औँ सत्रको अध्यक्षता समेत गरेकी थिइन्। नेपाल हाल युएनस्केपको अध्यक्ष राष्ट्र रहेकाले मन्त्री राणाले सत्रलाई नेपालका तर्फबाट सम्बोधन गरिन्। सत्रको मुख्य विषय ‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग’ रहेको थियो। उनले शहरी क्षेत्रहरूलाई विकास, नवप्रवर्तन र अवसरका इन्जिनको रूपमा प्रस्तुत गर्दै अव्यवस्थित सहरीकरणको समस्यालाई समाधान गर्न क्षेत्रीय सहयोगको आवश्यकता औंल्याएकी थिइन्।
मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलले सत्रमा सहभागिता जनाएको छ। उनीहरू यही वैशाख १३ गते स्वदेश फर्कने कार्यक्रम छ।