२०८२ असार १६ गते, सोमबार १९:५५

बुटवल-

वैवाहिक बलात्कारको मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको विरोधमा उनकी पूर्वपत्नी आरती रावल मंगलबार उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि अर्धनग्न अनशनमा बसेकी छन्। कार्यालय समय सुरु हुनुअघि अदालतको गेट बाहिर अनशन सुरु गरेकी रावललाई केही समयपछि प्रहरीले नियन्त्रणमा लिएर लगेको थियो।

गत वैशाख १ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई वैवाहिक बलात्कारको कसुरबाट सफाइ दिएको थियो। सोही फैसलापछि गिरी डिल्लीबजार कारागारबाट मुक्त भएका थिए। रावलले आफ्ना पति गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै २०७९ मा मुद्दा दायर गरेकी थिइन्, जसका कारण न्याय परिषद्ले गिरीलाई निलम्बन गरेको थियो।

जिल्ला अदालत काठमाडौँले गिरीलाई २०८१ जेठमा दोषी ठहर गर्दै ७ वर्ष कैद र तीन लाख जरिवानाको सजाय सुनाएको थियो। तर, गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेपछि उक्त फैसला उल्टिँदै उनले सफाइ पाएका थिए। रावलले अदालतको यो निर्णयलाई अस्वीकार गर्दै बुटवलमा प्रदर्शन गरेको र प्रहरीले उनलाई केही समय नियन्त्रणमा राखेर आफन्तको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

यो घटनाले वैवाहिक बलात्कारसम्बन्धी कानुनी प्रक्रिया र अदालती फैसलाहरूमाथि थप बहस सिर्जना गरेको छ। रावलको अनशन र प्रदर्शनले न्यायिक प्रणालीप्रति प्रश्न उठाउँदै पीडितको आवाजलाई बाहिर ल्याउने प्रयास गरेको देखिन्छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस