२०८२ असार १७ गते, मंगलवार १०:४५

काठमाडौं –

भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुईदिने नेपाल भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल आएका मन्त्री खट्टरको भ्रमणले नेपाल र भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति प्रदान गरेको छ ।

नेपालमा उत्पादित विद्युत् निर्यातका लागि भारतसँग ४०० केभी क्षमताका ३१० किलोमिटर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने द्विपक्षीय सम्झौताले नेपालको समृद्धिको यात्रामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । इनरुवा–न्यू पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर निर्माण हुनेछ भने दोदोधारा–बरेली प्रसारण लाइनमा नेपालतर्फ ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर निर्माण हुने छ । यी संरचनाले नेपाल र भारतबीच विद्युत् कारोबारलाई सहज र भरपर्दो बनाउनेछ । यो सम्झौताले नेपालको पूर्वी क्षेत्रबाट उत्पादित विद्युत् भारत हुँदै बङ्गलादेशसम्म र पश्चिमी क्षेत्रबाट भारतलगायत तेस्रो मुलुकमा निर्यात गर्न मार्ग प्रशस्त गर्नेछ ।

समझदारीपत्र हस्ताक्षर समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले यी प्रसारण लाइनहरू दुई देशबीचको विश्वास र दीगो विकासको साझा यात्राको प्रतीक भएको बताए । उनले भने, “हामीले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौँ । मन्त्री खट्टरको भ्रमणले यो लक्ष्य प्राप्तिका लागि आवश्यक संरचना र सहकार्यमा महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ ।”

भारतीय मन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको प्रगति भारतका लागि पनि महत्त्वपूर्ण भएको उल्लेख गर्दै अन्तरदेशीय प्रसारण लाइन निर्माणको सम्झौतालाई ऐतिहासिक कदमको रूपमा लिए । उनले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरु भएको र नयाँ परियोजनाहरूले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । साथै, नेपालको विद्युत् भारत हुँदै बङ्गलादेश निर्यात हुनु ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।

भ्रमणका क्रममा मन्त्री खट्टर र मन्त्री खड्काले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरे । उनीहरूले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको निरीक्षण गर्दै निर्माण कम्पनीका प्रतिनिधिसँग प्रगतिबारे जानकारी लिए । सो अवसरमा युनिट–२ को संयुक्त उद्घाटन र पावर हाउस नजिक वृक्षारोपण पनि गरियो ।

मन्त्री खट्टरले भ्रमणका क्रममा मुस्ताङको मुक्तिनाथ मन्दिर र पशुपतिनाथ मन्दिरमा विशेष पूजा-अर्चना गरे । मुक्तिनाथ यात्रामा ऊर्जा मन्त्री खड्का र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए ।

यसैगरी, मन्त्री खट्टरले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गरे । भेटमा द्विपक्षीय सम्बन्ध, ऊर्जा सहकार्य र सहरी विकासका क्षेत्रमा अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो ।

यो भ्रमणले नेपाल–भारत ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउँदै दुवै देशको आर्थिक विकास र क्षेत्रीय ऊर्जा सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस