काठमाडौं–
भारत प्रशासित जम्मु–कश्मीरको नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी सेनाले गोलीबारी गरेको भारतले आरोप लगाएको छ। भारतीय सेनाले सो गोलीबारीको जवाफी कारबाही गरेको बताइएको छ। यो घटना जम्मु–कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावको पछिल्लो कडी हो।
भारतीय मिडिया हिन्दुस्तान टाइम्सका अनुसार, नियन्त्रण रेखाका केही क्षेत्रमा बिहीबार रातिदेखि पाकिस्तानी सेनाले साना हतियारबाट गोलीबारी गरेको थियो। भारतीय सेनाले पनि प्रभावकारी रूपमा जवाफ फर्काएको छ। यद्यपि, यो गोलीबारीबाट कुनै क्षति भएको वा नभएको बारेमा विस्तृत जानकारी अहिलेसम्म प्राप्त भएको छैन।
पहलगामको बाइसारन उपत्यकामा मंगलबार भएको आतंकवादी हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो। उक्त हमलालाई भारतले पाकिस्तानसँगको ‘सीमापार आतंकवाद’ सँग जोडेर हेरेको छ। हमलामा संलग्न तीन संदिग्धमध्ये दुई जना पाकिस्तानी नागरिक रहेको भारतीय प्रहरीले दाबी गरेको छ।
हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। भारतले सिन्धु जल सम्झौता निलम्बन गरेको छ भने पाकिस्तानले भारतीय विमानका लागि आफ्नो आकाशमार्ग बन्द गरेको छ। साथै, दुवै देशले एकअर्काका नागरिकका भिसा रद्द गरेका छन् र व्यापारिक सम्बन्धमा पनि कटौती गरेका छन्।
भारतले नियन्त्रण रेखा वरपर सैन्य उपस्थिति बढाएको छ। भारतीय सेनाले ‘खोज र नष्ट’ अभियान सञ्चालन गरेको छ भने ड्रोन र थप सैनिक परिचालन गरिएको छ। भारतीय सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदीले शुक्रबार श्रीनगर र उधमपुरको भ्रमण गरी सुरक्षा स्थिति मूल्यांकन गर्दैछन्।
पाकिस्तानले भने पहलगाम हमलामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ। उसले भारतको कदमलाई ‘एकतर्फी र गैरकानुनी’ भन्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघले दुवै देशलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह गरेको छ।
यो तनावले दक्षिण एसियाली क्षेत्रमा थप अस्थिरता निम्त्याउने चिन्ता बढेको छ। दुवै देशले एकअर्कालाई युद्धको चेतावनी दिइरहँदा स्थिति नियन्त्रणबाहिर जाने खतरा देखिएको छ।