वीरगन्ज –
पर्साको वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी र संगठित अपराध प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४१ जनाविरुद्ध मुद्दा चलाउन पर्सा जिल्ला प्रहरी कार्यालयले सिफारिस गरेको छ।
पर्सा प्रहरीले शुक्रबार अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो। पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार अनुसन्धानपछि ३० जना व्यक्ति र ११ वटा संस्था तथा कम्पनीलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।

प्रहरी प्रतिवेदनअनुसार सानोपाइला सहकारीसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, पोखराको सूर्यदर्शन सहकारी र गोर्खा मिडिया नेटवर्क, नेचर हब्स, नेचर नेस्ट, जीबी ग्रुप अफ कम्पनीलगायतलाई प्रतिवादी बनाइएको छ। साथै, गितेन्द्रबाबु राई (जीबी), कुमार रम्तेल, हेमन्त अधिकारी, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, सागर केसी, दीपक लामा, कविता तामाङलगायत अन्य व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको छ।
ठगी र संगठित अपराध मुद्दामा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८२९ रुपैयाँ बिगो मागदाबी गरिएको छ। यसमध्ये १ अर्ब १२ करोड ६५ लाख २६ हजार रुपैयाँ कम्पनी र व्यक्तिहरूबाट असुल गर्नुपर्ने उल्लेख छ।
सांसदीय छानबिन समितिको निर्देशनपछि पर्सा प्रहरीले लामिछानेसहितका व्यक्तिहरूविरुद्ध अनुसन्धान अघि बढाएको थियो। सानोपाइला सहकारीमा रकम अपचलन भएको भन्दै विभिन्न समयमा ५२, २०७ र १७९ जना पीडितले जाहेरी दर्ता गराएका थिए।
हाल रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी रुपन्देही कारागारमा थुनामा छन्। उनीहरू चारवटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए, तर सुप्रिम सहकारी प्रकरणमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले धरौटी आदेश बदर गर्दै थुनामा पठाउन आदेश दिएको थियो।
प्रहरी प्रतिवेदनका आधारमा अब जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा तयार गरी अदालतमा अभियोग दायर गर्ने प्रक्रिया अघि बढाउने भएको छ।