२०८३ बैशाख १३ गते, आईतवार ०१:१४

 शेरबहादुर देउवाको विश्वास: आर्थिक वर्ष २०८२/८३ को बजेटले अर्थतन्त्र चलायमान बनाउनेछ

काठमाडौं

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्। सोमबार काँग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रमहरू समावेश हुने र निजी क्षेत्रका सवाललाई सम्बोधन गर्ने बताए।

“मलाई विश्वास छ, यस वर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रमहरू तयार हुनेछन्। आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ,” देउवाले भने।

उनले देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सरकारसँगै निजी क्षेत्रको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने धारणा राखे। स्थानीय उत्पादनको प्रोत्साहन, मौलिक सीपहरूको प्रवद्र्धन र उद्यमशीलता वृद्धिमार्फत मुलुकमा रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।

“निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्न अनुरोध गर्दछु। स्थानीय उत्पादनलाई प्रोत्साहन गरी, मौलिक सीपहरूको प्रवद्र्धन गरेर र उद्यमशीलता वृद्धि गरेर मुलुकमा रोजगारी बढाउन आवश्यक छ,” उनले थपे।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटमा समावेश गर्नुपर्ने नीतिगत सुधार र लगानीमैत्री वातावरणका लागि सरकारसँग अपेक्षा राखेका थिए। देउवाले निजी क्षेत्रको विश्वास जितेर आर्थिक विकासलाई तीव्रता दिनेगरी बजेट ल्याउन सरकारलाई सुझाव दिए।

पोडकास्ट सुन्नुहोस