२०८२ आश्विन २० गते, सोमबार १८:२६

भारत–पाकिस्तान तनाव : पाकिस्तानी रक्षामन्त्रीको युद्ध चेतावनी, कस्मिरमा ड्रोन खसालिएको दाबी

काठमाडौं –

भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएको बेला पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले युद्धको खतरा रहेको चेतावनी दिएका छन्। जम्मू–कस्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ।

गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा आतंकवादी समूहले गरेको हमलामा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो। यो घटनाले दुई आणविक शक्ति सम्पन्न राष्ट्रबीच तनाव बढाएको हो।

रक्षामन्त्री आसिफले पाकिस्तानी जियो न्यूजसँग कुरा गर्दै भने, “यदि केही भयो भने दुई वा तीन दिनभित्र हुनेछ। तत्काल खतरा छ।” यद्यपि, उनले युद्धको सम्भावना भए पनि त्यसलाई टार्न सकिने बताए।

यसैबीच, बिहीबार राति कस्मिरको नियन्त्रण रेखा (एलओसी) नजिक दुई पक्षबीच गोली हानाहान भएको थियो। पाकिस्तानले मंगलबार भारतको जासुसी ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानको सरकारी टेलिभिजन च्यानलले रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै उक्त ड्रोनले नियन्त्रण रेखा उल्लंघन गरेको जनाएको छ। भारतले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

विगतमा पनि दुवै पक्षले सीमा क्षेत्रमा निगरानीका लागि प्रयोग हुने साना ड्रोन खसालेका छन्। तर, यो घटना दुई देशबीच सम्बन्ध अत्यन्त तनावपूर्ण भएको बेला भएको हो।

चीन, साउदी अरब र अन्य खाडी राष्ट्रहरूले युद्ध रोक्न मध्यस्थताको प्रयास गरिरहेका छन्। संयुक्त राष्ट्रसंघले पनि दुवै देशलाई संयम अपनाउन आग्रह गरेको छ।

पोडकास्ट सुन्नुहोस