२०८२ असार १७ गते, मंगलवार २३:४२

काठमाडौँ –

जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरुले बताएका छन् ।

उनीहरुले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमीक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् । उनीहरुले कतिपय ठूला उद्योगी व्यवसायीहरुले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरु ‘एम्बुस’ बन्दै गएको आरोप लगाए । १ सय ३६ औं श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले श्रमिकको हकहितका लागि ट्रेड युनियनहरुको खबरदारी नपुगेको बताउनु भयो ।

उहाँले कतिपय ठूला उद्योगी व्यवसायीहरुले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरु ‘एम्बुस’ बन्दै गएको आरोप लगाउनु भयो । सिम्खडाले श्रमिकहरुको बाँच्न पुग्ने तलवभत्ता नहुँदा श्रमिकहरु विदेशीन बाध्य भएको स्पष्ट पार्नुभयो । उहाँले श्रमिकको हक हितमा ऐन नियमहरु बनाइरहँदा श्रमिकको जीवनमा उज्यालो आउँछ भन्ने सोच्दासोच्दै श्रम सुरक्षाका नाममा अधिकारहरु साट्न बाध्य हुनुपरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले पनि जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित श्रमिक क्षेत्र भएको बताउनु भयो । उहाँले श्रम बजार परिवर्तन भएको र शोषणका रुपहरुसमेत परिवर्तन भएको उल्लेख गर्दै नयाँ श्रमिकहरुमा मजदुर आन्दोलन सशक्त हुन नसकेको भ्रम रहेको बताउनु भयो । उहाँले श्रमिकका हकहितमा हाँसिल गरिएका उपलब्धिहरुलाई व्यवहारमा उतार्न नसकिएको स्वीकार गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले केही समयअघि दुई सय ४० दिन काम गरेसँगै स्थायी हुनुपर्ने प्रावधान रहेको भएपनि हाल एक घण्टा काम गरेपनि स्थायी सरह सेवा सुविधा दिनुपर्छ भन्ने खालको कानून आइसकेको बताउनु भयो । सामाजिक सुरक्षाको व्यवस्था भइसकेको तर सबैतिर लागू नहुँदा समस्या जस्ताको तस्तै देखिएको बताउनु भयो । कार्यान्वयनमा अरुले बोलिदिए हुन्थ्यो कि भन्ने अवस्थाका कारण श्रमिक वर्गको उत्थानमा समस्या रहेको अध्यक्ष श्रेष्ठले दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर अनौपचारिक क्षेत्रका श्रमिक, अझ त्यसमा पनि महिला श्रमिक बढी प्रभावित भएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनसँगै श्रमिक क्षेत्र प्रभावित भएको र त्यसमा पनि महिला श्रमिक अझ बढी प्रभावित भएको बताउँदै जलवायु परिवर्तनसँगै कामको संसारमा परिवर्तन आएको बताउनु भयो । जलवायु परिवर्तनले यातायात, पर्यटन, कृषि, निर्माणलगायत अधिकांश क्षेत्रमा असर परेको र श्रमजीवीले रोजगारी गुमाउनु परिरहेको र यसमा नेपाल सरकारले जुन रुपमा काम गर्नुपर्ने हो त्यो नगरेको अध्यक्ष कुँवरको भनाई थियो ।

उहाँले केही समयअघि आएका बाढी, पहिरो लगायतका कारण खोला किनारामा काम गर्ने श्रमिक महिला बढी मारमा परेको उल्लेख गर्दै परिवर्तित सन्दर्भमा श्रमिकहरुको क्षमता, दक्षता र सीपलाई परिमार्जित गर्ने गरि काम भइरहेको अध्यक्ष कुँवरले दाबी गर्नुभयो ।

उहाँले पछिल्लो समयमा श्रमिकको हकहितका लागि कुनै काम भएनन् भन्ने अवस्था नरहेको भन्दै श्रमका सन्दर्भमा नीतिगत संरचनाहरु बनेको दावी गर्नुभयो । तर कार्यान्वयनका सन्दर्भमा जुन रफ्तारमा काम हुनुपर्ने थियो त्यसमा सरकारको संयन्त्रहरुले राम्रोसँग काम नगरिदिँदा कार्यान्वयन हुन नसकेकोले गुनासो बढीरहेको स्पष्ट पार्नुभयो ।

यसैगरी कार्यक्रममा जिफन्ट महिला विभाग अध्यक्ष सीता लामाले महिला श्रमिकको अवस्था धेरै पीडामा रहेको बताउनु भयो । उहाँले महिला श्रमिक पितृ सत्तात्मक सोच र चिन्तनले ग्रस्त समाजबाट पीडित रहेको बताउनु भयो । साथै उहाँले जलवायु परिवर्तनले सबैभन्दा बढी पारेको श्रमिक वर्गलाई र त्यसमा पनि महिला श्रमिक धेरै पीडित रहेको दाबी गर्नुभयो । उहाँले पेशा र कामको प्रकृति फरक—फरक भएपनि महिला श्रमिक कार्यथलोमा समेत शोषित भइरहेको बताउनु भयो ।

कार्यक्रममा श्रमिक नेताहरुले दैनिक आठ घण्टा काम, आठ घण्टा आराम भनिएपनि नेपालमा भने व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका थिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस