काठमाडौँ –
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कानून कार्यान्वयनको पक्षलाई बलियो बनाउने गरी देशभर बहस हुनुपर्ने बताउनुभएको छ ।
शुक्रवार कानून दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानून नेपालमा हरेक क्षेत्रसँग सम्बन्धित कानूनको चाङ रहेको तर कार्यान्वयनको पक्ष कमजोर रहेको बताउनु भयो । कानून निर्माण मात्रै मुख्य कुरा नभइ कानूनको सही ढंगले कार्यान्वयन गर्नु महत्वपूर्ण भएको बताउनु भयो । उहाँले कानूनको सही कार्यान्वयन र परिपालना नहुँदा कानूनको कुनै अर्थ नहुने बताउनु भयो । निर्माण भएका कानून व्यवहारिक र समय सापेक्ष छ कि छैन भनेर कानूनको समीक्षा गर्ने समय भएको उहाँको भनाइ छ ।
उहाँले स्थानीय स्तरमा न्याय सम्पादन गर्नका लागि काठमाडौं महानगरपालिकाको हरेक वडामा न्यायिक मेलमेलाप केन्द्र स्थापना गरिएको उहाँको भनाइ छ । उहाँले वडामा स्थापना भएका महिला सञ्जाल र मेलमिलाप केन्द्रका कारण मेलमिलाप गर्न आउनेको संख्या बढेको बताउनु भयो । काठमाडौं महानगरपालिकाको प्रत्येक वडामा निःशुल्क रुपमा मेलमिलाप सेवा दिइ रहेको उहाँको भनाइ छ । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले न्यायिक मनबाट न्याय दिनका लागि न्यायिक समितिको दायरा फराकिलो पार्नुपर्ने बताउनु भयो ।
उहाँले न्याय सम्बन्धीको विषयमा संविधान र स्थानीय सरकार सञ्चालन ऐन दुविधामा रहेको बताउनु भयो । उहाँले ऐनमा भएका दुविधाहरु तत्काल संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला अदालत, उच्च अदालत वा सर्वोच्च अदालतमा न्यायका लागि मुद्दा दर्ता गर्नुपर्दा पीडितसँग न्यायाधीशहरुको प्रत्यक्ष सम्बन्ध वा भेटघाट नहुने भएकाले सही न्याय पाउनमा समस्या हुने बताउनु भयो ।
कार्यक्रममा वक्ताहरुले विधिको शासन कायम गर्न न्यायिक मनले न्याय दिनुपर्नेमा जोड दिएका थिए ।