२०८२ असार १७ गते, मंगलवार १०:५५

सुर्खेत –

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले जेठ १५ गतेदेखि घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्न पार्टी पङ्क्ति र जनतालाई आह्वान गरेका छन् । सोमबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित वाईसीएल नेपालको पहिलो सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजावादीहरूको ‘प्रतिक्रान्तिकारी षड्यन्त्र’विरुद्ध देशव्यापी अभियान चलाउन निर्देशन दिए ।

‘पूर्वपञ्चहरू एकजुट भएर जेठ १५ देखि आन्दोलन गर्ने घोषणा गर्दै छन् । म विशेष अपिल गर्छु, उनीहरूको प्रतिक्रान्तिकारी गतिविधिलाई निस्तेज पार्न हरेक गाउँ, टोलमा पुगेर जनतालाई सचेत बनाउनुपर्छ,’ प्रचण्डले भने । उनले राजावादीहरूले वर्तमान सरकारको गलत नीति र जनतामा बढ्दो निराशाको दुरुपयोग गर्न खोजेको आरोप लगाए ।

प्रचण्डले सरकारको गलत नीतिका कारण जनतामा असन्तुष्टि बढेको बताए । ‘काठमाडौंमा सरकारका गलत कामले जनतामा निराशा छाएको छ । राजावादीहरूले यो असन्तुष्टिको दुरुपयोग गर्ने प्रयास गरेका छन्,’ उनले भने । तर, समाजवादी मोर्चाको सक्रियताले राजावादीको योजनालाई पहिल्यै कमजोर बनाएको उनको दाबी छ । ‘हामीले प्रहार गर्दा राजावादीको बेलुन फुटिसकेको छ । तैपनि उनीहरू दुस्साहस गर्न छाडेका छैनन्,’ उनले थपे ।

राजावादीहरूलाई ‘कायर’ को संज्ञा दिँदै प्रचण्डले उनीहरूको इतिहासमाथि प्रश्न उठाए । ‘अढाई सय वर्ष शासन गरेर देशलाई पछाडि धकेल्ने राजा–महाराजा यिनै हुन् । आफ्नै राजपरिवारको हत्या हुँदा हत्यारा पत्ता लगाउन नसक्ने यिनै कायर हुन् । यस्ता घुर्कीविरुद्ध देशभरका जनता एकजुट भएर प्रतिवाद गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस