२०८२ श्रावण ६ गते, मंगलवार २३:१४

भेरीगङ्गा, सुर्खेत –

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समयसान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । भेरीगङ्गा–९, सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हुलाक सेवालाई आधुनिक र प्रभावकारी बनाउन नयाँ ऐनको मस्यौदा तयार भइरहेको जानकारी दिए ।

‘हुलाक सेवाको विकास हुन नसकेको, पुरानै तरिकाले चलिरहेको अवस्था छ,’ उनले भने, ‘अब यसको सेवालाई थप प्रभावकारी बनाउन नीति परिवर्तन हुन्छ । हामीले ऐन ड्राफ्ट गरिरहेका छौँ । ऐन बनिसकेपछि सङ्घीयताको मर्मअनुसार आधुनिक रूपमा हुलाक सेवा सञ्चालन हुन्छ ।’

मन्त्री गुरुङले सङ्घीय गणतन्त्रमा पुरानो ऐनबाट हुलाक सेवा सञ्चालन गर्दा अपेक्षित प्रतिफल नआउने बताए । ‘राजा महेन्द्रको पालाको कानुनले हुलाक चलाएर परिवर्तनको आशा गर्नु गलत हो,’ उनले भने, ‘यतिका वर्षमा धेरै सरकार फेरिए, तर नयाँ कानुन बनाउन किन ध्यान दिइएन ?’ उनले भ्रामक सूचनाले समाजमा नकारात्मक प्रभाव परिरहेको उल्लेख गर्दै सञ्चारसम्बन्धी विधेयक छिट्टै कानुनको रूपमा ल्याउने बताए ।

विकासका काममा अध्ययनको कमीले राज्यको खर्बौं रकम खेर गइरहेको उनको भनाइ थियो । ‘बसाइँसराइ शहरकेन्द्रित छ, प्रविधिको विकास तीव्र छ, तर सनकको भरमा बिना अध्ययन विकासका काम गर्दा राज्यको रकम नोक्सान भएको छ,’ उनले भने, ‘विकास आवश्यकता र औचित्यका आधारमा हुनुपर्छ, यो प्रवृत्ति बदल्नुपर्छ ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई प्रभावकारी बनाउन माग गरिएका सबै विषय सम्बोधन गर्ने प्रयास गरिने बताइन् । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगतिश्वर उपाध्यायलगायतले हुलाक सेवालाई प्रविधिमैत्री बनाउन सुझाव दिए ।

कार्यक्रममा हुलाक सेवालाई प्रभावकारी बनाउन योगदान गर्ने विभिन्न निकाय र व्यक्तिहरूलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस