२०८२ असार १६ गते, सोमबार २०:१८

काठमाडौ –

काठमाडौं प्रवेश गर्ने क्रममा प्रहरीले १२ किलोभन्दा बढी अवैध चाँदीसहित एक बसका सहचालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया निवासी ३२ वर्षीय अनिश कुमार सिंह रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सोमबार राति पौने १० बजेतिर नागढुंगा प्रहरी प्रभागको टोलीले बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम चाँदीका गरगहना बरामद गरेको हो। उक्त बस वीरगन्जबाट काठमाडौं आउँदै थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपील राज बोहराले बरामद गरगहनासँग सम्बन्धित कुनै बिल वा वैध कागजात प्रस्तुत गर्न नसकिएकोले चाँदी अवैध भएको पुष्टि भएको बताए। सहचालक सिंहले उक्त चाँदी काठमाडौं ल्याइरहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार उक्त चाँदी काठमाडौंमा अवैध रूपमा कारोबार गर्ने उद्देश्यले ल्याइएको हुन सक्छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस