काठमाडौं-
गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नीतिको विरोधमा उत्रिएका यातायात व्यवसायी र सरकारबीचको वार्ता आज पनि निष्कर्षविहीन बनेको छ। दुई पटक भएको छलफलबाट पनि कुनै ठोस सहमति नजुटेपछि व्यवसायीहरूले आफ्नो अनिश्चितकालीन बन्द यथावत् राख्ने अडान दोहोर्याएका छन्।
यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सरकारको राइड सेयरिङ नीति तत्काल स्थगन नगरेसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पारेका छन्। उनले भने, “हामीले नीति खारेज गर्न माग गरेका थियौं। अहिले एक कदम पछाडि हटेर कम्तीमा स्थगन गर्न भनेका हौं। सरकारले वार्ता समिति गठन गरेर छलफल अघि बढाउने प्रारम्भिक सहमति भएको छ, तर जबसम्म सरकारको तर्फबाट औपचारिक निर्णय आउँदैन, हामी आन्दोलन फिर्ता लिँदैनौं।”
सोमबार काठमाडौँको गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीबीच तीन घण्टा लामो छलफल भएको थियो। छलफलमा प्रदेश सरकारको निर्णयबारे पुनर्विचार गर्न र आन्दोलनलाई पनि व्यवस्थापन गर्ने दिशामा अघि बढ्न सहमति खोजिएको थियो।
आजको छलफलमा ११ सदस्यीय वार्ता समिति गठन गर्ने सहमति भएको छ, जसमा यातायात क्षेत्रबाट ४ र अन्य मन्त्रालयबाट ७ जना रहनेछन्। यो समितिले आजैबाट छलफल सुरु गर्ने जनाइएको छ। तर, समस्याको समाधान नआएसम्म आन्दोलन जारी रहने व्यवसायीहरूको भनाइ छ। उनीहरू विशेषगरी गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’ सम्बन्धी निर्णयको कडा विरोध गरिरहेका छन्।
आज देशभरि नै सार्वजनिक यातायात ठप्प छ, जसले गर्दा सर्वसाधारणको जनजीवन नराम्ररी प्रभावित भएको छ।