काठमाडौं –
एग्रोटेक कम्पनी कनेक्ट किसानले किसानहरूलाई सहज र व्यावहारिक जानकारी प्रदान गर्न एआई च्याटबट ‘कृषि बट’ सार्वजनिक गरेको छ। बुधबार राजधानीमा आइडिया स्टुडियोले आयोजना गरेको ‘आइडियाटोर’ कार्यक्रममा कम्पनीले यो एआई असिस्टेन्ट टुल लन्च गरेको हो।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कृषि बट’ लाई ‘कफी सुकाउने तरिका बताउन सक्नुहुन्छ ?’ भनी प्रश्न सोधेका थिए। च्याटबटले ह्वाट्सएपमार्फत तत्कालै व्यावहारिक जवाफ दिएको थियो। यो फिचरले किसानहरूलाई बोलेरै प्रश्न सोध्ने र जवाफ प्राप्त गर्ने सुविधा प्रदान गर्छ।

‘कृषि बट’ प्रयोग गर्न मोबाइलमा ह्वाट्सएप डाउनलोड भएको हुनुपर्छ। कनेक्ट किसानले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरेपछि प्रयोगकर्ता सिधै च्याटबटमा पुग्छन्। त्यसपछि अडियो वा टेक्स्टमार्फत कृषि सम्बन्धी जिज्ञासा राख्न सकिन्छ, र एआईले सेकेन्डमै नेपाली वा अंग्रेजीमा जवाफ दिन्छ।
कम्पनीकी सीईओ सञ्जिता लामिछानेले भनिन्, “हामी हाल परीक्षण चरणमा छौँ। अहिले यो बटले नेपालमा कफी खेतीका विभिन्न पक्षबारे मात्र जानकारी दिन्छ। तर, अन्य बाली र नेपालको भूगोल–परिवेशमा आधारित जानकारी प्रदान गर्न रिसर्च गरिरहेका छौँ।” उनले गुगलको सामान्य जानकारीमा आधारित नभई नेपालको सन्दर्भमा विशेष अनुसन्धान गरेर बटलाई तालिम दिइएको बताइन्।
कनेक्ट किसानले आफ्नो एपमार्फत बाली, रोग, किरा र समाधानबारे जानकारी दिँदै आएको छ, तर एप प्रयोगमा किसानलाई कठिनाइ भएको महसुस भएकोले यो च्याटबट ल्याइएको लामिछानेले उल्लेख गरिन्। “बोलेर जानकारी लिन सजिलो हुन्छ, र भविष्यमा एक–दुई मिनेटका भिडियोमार्फत पनि जानकारी दिने गरी काम गरिरहेका छौँ,” उनले थपिन्।
यो च्याटबटले किसानहरूलाई प्रविधिमार्फत सजिलै कृषि ज्ञान प्राप्त गर्न सघाउने अपेक्षा गरिएको छ।