काठमाडौं-
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयबाट गरिने काममा कुनैपनि बहानामा कमजोरी नभएको दाबी गर्नुभएको छ ।
आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले मन्त्रालयबाट हुने कार्यसम्पादनका लागि यो वा त्यो नाममा तथा यो वा त्यो विचारको नाममा कमजोरी नभएको बताउनु भयो । उहाँले सबै बराबरी भएको बताउँदै गरिबीसँग लडेर केही पेसा व्यवसाय नभएका मानिसहरूलाई कसरी उकास्ने भन्नेमा मन्त्रालय लागिपरेको दाबी गर्नुभयो ।

उहाँले गरिबी हटाउने र समृद्धि ल्याउन गरिबीसँग लडेका तथा कुनै पेसा व्यवसाय नभएका किसानहरूलाई अगाडी बढाउनू आफ्नो पहिलो प्राथमिकता रहेको जिकिर गर्नुभयो । मन्त्री अधिकारीले व्यवसायीकरणमा जाने र औद्योगिकीकरण गर्ने विषय मन्त्रालयको दोस्रो प्राथमिकतामा रहेको जिकिर गर्नुभयो । उहाँले मन्त्रालयबाट हुने गतिविधिलाई थप कार्यान्वयन गर्न र कुनै गल्ती भए सुधार गर्न समितिले समय समयमा बैठकहरू बोलाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
बैठकमा मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले कृषि अनुदानलाई उत्पादनमुलुक र पारदर्शी र अनुमानयोग्य बनाउनको लागि दुई वटा कार्यविधि बनाइएको बताउनु भयो ।