२०८२ असार १७ गते, मंगलवार १०:५४

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरणअनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  रेमिट्यान्स र वैदेशिक विनिमय सञ्चिति: चालु आर्थिक वर्षको १० महिनामा १३.२% वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। कुल वैदेशिक विनिमय सञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ, जुन १४.६ महिनासम्मको आयात धान्न पर्याप्त छ।
  • मुद्राप्रदाय, कर्जा र निक्षेप: समीक्षावधिमा विस्तृत मुद्राप्रदाय ६.६% र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३% ले बढेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति २.७७% रहेको छ।
  • सरकारी वित्त र वैदेशिक लगानी: सरकारको खर्च ११ खर्ब ५७ अर्ब र राजस्व ९ खर्ब २२ अर्ब पुगेको छ। प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब ६० करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

काठमाडौं –

चालु आर्थिक २०८१/८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरणअनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो ।

यस्तो रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रहेको रहेको थियो । त्यस्तै विप्रेषण आप्रवाह अमेरिकी डलरमा १० दशमलव ५ प्रतिशतले बढेको छ ।

यस्तै कुल विदेशी विनिमय संञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ । यो रकम १४ दशमलव ६ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त छ । गत वर्ष २०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो ।

अमेरिकी डलरमा हेर्दा यो सञ्चिति २०८१ असारको १५ अर्ब २७ करोडबाट २०।५ प्रतिशतले बढेर १८ अर्ब ४० करोड पुगेको छ । यो सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २२ खर्ब ११ अर्ब ११ करोड र अन्य बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड छ ।

गत वर्षको तुलनामा राष्ट्र बैंकको सञ्चिति १९ दशमलव ६ प्रतिशत र अन्य वित्तीय संस्थाको सञ्चिति ५६ दशमलव ८ प्रतिशतले बढेको छ । यो सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ दशमलव २ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार यो सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ४१ दशमलव १ प्रतिशत, कुल आयातको १२१ दशमलव ४ प्रतिशत र विस्तृत मुद्रा प्रदायको ३३ दशमलव ८ प्रतिशत छ ।

समीक्षा अवधीमा विस्तृत मुद्राप्रदाय ६ दशमलव ६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११ दशमलव ४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६ दशमलव २ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८ दशमलव ४ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत रहेको छ ।

शोधनान्तर स्थिति ४ सय ३८ अर्ब ५२ करोडले वचतमा रहेको छ । आयात १३ दशमलव१ प्रतिशतले र निर्यात ७२ दशमलव ७ प्रतिशतले बढेको छ । वैशाखसम्म नेपाल सरकारको खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड र राजश्व परिचालन ९ खर्ब २२ अर्ब ४३ करोड रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो अवधिसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।

राष्ट्र बैंककाअनुसार चालु आवको १० महीनाको अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ५ करोड रहेको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस